वीरगंज , मसिर – १२
बाराको प्रसौनी गाउँपालिका–६ मा गएराति एक पुरुषको घाँटी रेटेर हत्या भएको छ। हत्या गरिएका व्यक्ति सर्लाहीस्थित धनकौलका ४२ वर्षीय राम किशोर सिंहका रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए।
सिंह प्रसौनीस्थित किरण वेबरेजका व्यवस्थापक रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा आसपासका स्थानीयसँग बयान लिने कार्य जारी राखेको डीएसपी पण्डितले जानकारी दिए।
“प्रारम्भिक अनुसन्धान अनुसार उनको घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ,” डीएसपी पण्डितले भने, “हामी सबै कोणबाट अनुसन्धान अगाडि बढाइरहेका छौँ।”
प्रहरीका अनुसार हत्याको कारण र संलग्न व्यक्तिहरूको पहिचान अझै खुल्न बाँकी छ। घटनाबारे अनुसन्धान तीव्र पारिएको बताइएको छ।











