वीरगंज, जेठ २६ –
वीरगंज महानगरपालिका–२१ स्थित परवानीपुर स्वास्थ्य चौकीलाई हिमालयन डिस्टिलरी लिमिटेडले ११ लाख ५० हजार रुपैयाँ बराबरको अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन सहयोग गरेको छ।
वडाध्यक्ष राधाकृष्ण रौनियारको पहलमा उपलब्ध गराइएको उक्त उपकरण एक कार्यक्रमबीच हिमालयन डिस्टिलरीका प्रतिनिधिले स्वास्थ्य चौकी प्रमुख रामेश्वर रामलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा हिमालयन डिस्टिलरी लिमिटेडका महाप्रबन्धक हरि अधिकारी, प्रशासन अधिकृत अमर पोखरेल, वडा सचिव राजीव गिरी तथा स्थानीय समाजसेवी र सर्वसाधारणको उपस्थिति रहेको थियो।
उपकरण हस्तान्तरणपछि वडाध्यक्ष रौनियारले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सहयोग जुटाइएको बताए। उनले गर्भवती महिला, ज्येष्ठ नागरिक तथा अन्य बिरामीलाई सामान्य स्वास्थ्य परीक्षणका लागि समेत टाढा जानुपर्ने बाध्यता अब केही हदसम्म अन्त्य हुने विश्वास व्यक्त गरे।
स्वास्थ्य चौकी प्रमुख रामेश्वर रामले अल्ट्रासाउन्ड मेसिन प्राप्त भएसँगै स्वास्थ्य संस्थाको सेवा क्षमता विस्तार हुने र स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ पाउने बताए। उनका अनुसार अब परवानीपुर क्षेत्रमै अल्ट्रासाउन्ड सेवा उपलब्ध हुँदा स्वास्थ्य परीक्षण र उपचारमा सहजता आउनेछ।





