साउथ जोन माविका विद्यार्थी बीमा सुविधामा आबद्ध

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २६ –

साउथ जोन माध्यमिक विद्यालय, वीरगंज–१३ राधेमाईले आफ्ना विद्यार्थीका लागि दुर्घटना तथा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ। विद्यालयमा अध्ययनरत करिब १ हजार ८२५ विद्यार्थी यस योजनाबाट लाभान्वित हुने भएका छन्।

विद्यालयले नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा प्रत्येक विद्यार्थीका लागि १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा तथा ३ हजार ५०० रुपैयाँ बराबरको स्वास्थ्य बीमाको व्यवस्था गरेको जनाएको छ। यसअनुसार प्रत्येक विद्यार्थीले कुल १ लाख ३ हजार ५०० रुपैयाँसम्मको बीमा सुरक्षा प्राप्त गर्नेछन्।

विद्यालयका सहायक प्रधानाध्यापक अशोक संग्रौलाका अनुसार चालु शैक्षिक सत्रदेखि लागू गरिएको यो बीमा योजना २४ घण्टा प्रभावकारी रहनेछ। विद्यालय आउजाउ गर्ने क्रममा, घरमा वा खेलकुदका गतिविधिका दौरान हुने दुर्घटनासमेत बीमा सुविधाभित्र समेटिएको छ।

दुर्घटनाका घटनामा उपचार खर्च वापत वार्षिक अधिकतम १ लाख रुपैयाँसम्म दाबी गर्न सकिने व्यवस्था गरिएको छ। यस्तै स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा, चिकित्सकीय परामर्श तथा औषधोपचार खर्चका लागि वार्षिक ३ हजार ५०० रुपैयाँसम्म सुविधा उपलब्ध हुनेछ।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीले बीमा योजनाले विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नुका साथै अभिभावकको आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। विद्यालयले आगामी दिनमा पनि विद्यार्थी हितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित पोस्टहरुः