जसको घरपरिवारले विना गल्ती सजाय भोग्नुपर्छ

‘एउटा बिराउने, शाखा पिराउने ।’ नेपाली समाजमा प्रचलित यो उखानले आजको हाम्रो यस्तो मनोवृत्तिलाई इंगित गर्छ, जहाँ एउटाको गल्तीलाई लिएर अरु थुप्रैलाई दोष दिने गरिन्छ ।

जस्तो कुनै पुरुषले कुनै अपराध गरेमा हामी भन्छौं- फलानोको छोरोले यसो गरेछ । कुनै महिलाले कुनै त्रुटि गरेमा हामी भन्छौं- कस्तो आमाले जन्माएको सन्तान हो ? अर्थात् एउटा व्यक्तिको गल्तीलाई लिएर उनका आमाबुवा, छोराछोरी, श्रीमान्-श्रीमती, नातागोता सबैलाई औंला ठड्याउन थाल्छौं । त्यही कारण हाम्रो समाजमा कुनै कसुर नगरी पनि धेरै मान्छे गालीको सिकार बनिरहेका हुन्छन् ।

जस्तो कुनै मान्छेले अपराध गर्छ । उसलाई आरोप लगाइन्छ । ऊ मुद्दा मामिलामा पर्छ । उसले कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ । स्वभाविक हो, कसैले अपराध गर्छ भने उसले त्यसअनुसार सजाय भुक्तान गर्नैपर्छ । तर उक्त व्यक्तिका आमाबुवा, परिवार आदिले पनि यसवापत ठूलै सास्ती व्यहोर्नुपर्ने हुन्छ ।

यसरी एउटा व्यक्तिको कारण उनका परिवार, आफन्तमा मानसिक आघात पुग्छ । उनीहरुको निद्रा हराउँछ, भोक हराउँछ । जबकि यसबाट उनीहरुलाई कसरी बाहिर निकाल्ने, कसरी सान्त्वना दिने भन्ने परिपाटी छैन । बरु उक्त परिवारमाथि नानाभाँती दोष थोपर्ने काम हुन्छ ।

परिवार एक्लो हुन्छ

परिवारले नै अपराध गरे जसरी होच्याउने, दिल्लगी गर्ने, दोष लगाउने व्यवहार गरिन्छ । यही कारण उक्त परिवार बाहिर हिंडडुल नगर्ने, सार्वजनिक ठाउँ र भोजभतेरमा सहभागी नहुने हुन्छ ।

डा. प्रेरणा झा

आरोप लागेको तथा जेल परेको व्यक्ति घरमूली हो । उसकै कमाइबाट परिवार चल्ने गरेको थियो भने त झन् घरमा आर्थिक अभाव पनि सुरु हुन्छ । आर्थिक अभाव भएपछि बच्चाहरुले राम्रो शिक्षा पाउन सक्दैनन् । सानो सानो आवश्यकता पूरा गर्न पनि गाह्रो हुन्छ । जसले गर्दा  हामी त परिवारको लागि नै बोझ भयौं भन्ने सोच आउँछ बालबालिकामा आउँछ ।

उनीहरु एक्लै बस्न रुचाउने, साथीभाइसँग घुलमिल नहुने र समाजबाट टाढा हुन थाल्छन्, जसले गर्दा बच्चामा एन्जाइटी र डिप्रेसनको समस्या समेत देखिन सक्छ ।

आमाबुवालाई दोष

युवा अवस्थामा केही गल्ती गरेर कोही जेल गयो भने उसको अभिभावकलाई राम्रो संस्कार नदिएको भन्ने दोष लगाइन्छ । विवाहपछि व्यक्ति जेलमा गयो भने श्रीमतीले तनाव दिएर नराम्रो काममा लागेको हुन सक्छ भनिन्छ ।

तिमीहरुले राम्ररी सम्हालेको भए, राम्रो संस्कार दिएको भए यस्तो परिस्थिति आउने थिएन भनेर श्रीमती र बुबाआमालाई दोष लगाइन्छ । परिवारको सदस्यलाई आरोप लागेको कारण यसै पनि परिवारका अन्य सदस्य उदास हुन्छन् । पहिलेदेखि नै मानसिक समस्या भएको सदस्य घरमा छ भने यो खबरले उसको अवस्था झन् बिग्रन थाल्छ ।

आमाबुबा तथा श्रीमतीलाई मैले समयमा केही कुरा सम्झाएको भए यो अवस्था आउने थिएन भनेर पछुतो लाग्ने, सोसल एन्जाइटी हुने र पछि एन्जाइटी र डिप्रेसनको समस्या तथा आत्महत्याको सोच समेत आउन सक्छ ।

जो व्यक्ति जेलमा छन्, उनीहरुको लागि त जेलमा नै मानसिक परामर्श दिने व्यवस्था हुन्छ । तर परिवारका सदस्यहरुलाई परामर्श दिने व्यवस्था नेपालमा छैन । त्यसैले मानसिक समस्याबाट बच्न परिवारका सदस्य आफैं सचेत हुनुपर्ने अवस्था छ ।

के गर्ने त ?

खासमा परामर्श त्यस परिवारलाई जरुरी हुन्छ, जसका कुनै सन्तान मुद्दा मामिलामा फसेका छन्, कुनै आरोप खेपिरहेका छन्, कैद सजाय भुक्तान गरिरहेका छन् ।

यस्तो परिवार मानसिक रुपमा निकै सताइएका हुन्छन् र त्यसमाथि असहयोग, असुरक्षा र अशान्तिले तड्पाइरहेको हुन्छ । यस्तो अवस्थामा उनीहरुलाई थप दोष दिने र एक्ल्याउने भन्दा पनि साथ, सान्त्वना र सहयोग दिन जरुरी हुन्छ ।

परिवारका सदस्यलाई पुग्न सक्ने मानसिक आघातबाट उनीहरुलाई बचाउन छिमेक, आफन्त, इष्टमित्र र समाजको महत्वपूर्ण भूमिका हुन्छ । परिवारका सदस्यको अगाडि उक्त व्यक्तिको कुरा बारम्बार गर्नुहुँदैन ।

(डा. झा. मनोरोग विशेषज्ञ हुन् । उनीसँग  अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

सम्बन्धित पोस्टहरुः