ड्राई फ्रूट्सको तस्करी बढ्दो सरकारले भन्सार नाकाबाट ल्याउनै दिएन

वीरगंज, २८ भदौ । हिन्दूहरूको चाडमा ड्राई फ्रूट्सको माग अत्यधिक हुने गरेको छ । यसअघि भदौ, असोज, कात्तिकमा भन्सार नाकाबाट ठूलो परिमाणमा ड्राई प्रूmट्स भिœयाइन्थ्यो । तर अहिले वीरगंजका दुईटै भन्सार नाकाबाट ड्राई फ्रूट्सको आयात ठप्प छ ।
सोमवार वीरगंज–१० बजरङ्गटोलबाट पर्सा प्रहरीले आठ सय किलो काजु बरामद गरेको घटनाले ड्राई फ्रूट्सको अवैध पैठारी भइरहेको पुष्टि हुन्छ । भन्सार नाकाबाट मालसामान ल्याउँदा राज्यलाई राजस्व फाइदा हुन्छ भने अवैधरूपमा तस्करीको बाटोबाट मालसामान भित्रिंदा राज्यलाई राजस्व घाटा हुने गर्छ ।
सर्वसाधारणका अनुसार वीरगंजका हरेक पसल, भाटभटेनी, हेटौंडा, पोखरा, काठमाडौंलगायत शहरमा पनि ड्राई फ्रूट्स काजु, किसमिस, बदाम, छोहडा, कटुसलगायत सामग्रीहरू सहजै खरीद गर्न सकिन्छ तर ती सबै सामान अहिलेको समयमा भन्सार नाकाबाट नआई तस्करीको माध्यमबाट भारतबाट नेपाल भित्रिरहेको र सीमावर्ती नेपाली बजारबाट नेपालका अन्य ठूला शहरहरूमा गइरहेको छ ।
प्रतिकिलो काजु भारु छ सयभन्दा कममा मूल्याङ्कन नगर्ने भन्सारको सन्दर्भ मूल्यपुस्तिकामा उल्लेख छ । भन्सार नाकाबाट काजु भारत तथा तेस्रो मुलुकबाट आयात गर्दा खरीद मूल्यमा १५ प्रतिशत भन्सार शुल्क, १५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूअकर गरी एक किलो काजु आयात गर्दा प्रतिकिलो रु १४ सय पर्छ । तर तस्करीको माध्यमबाट रक्सौलबाट वीरगंजका व्यवसायीको गोदाममा काजु पुग्दा प्रतिकिलो नेरु ११ सय पर्छ । भन्सार नाकाबाट काजु आयात गर्नुभन्दा तस्करीको बाटो व्यवसायीहरूले रोजिरहेका छन् ।
स्रोतका अनुसार रक्सौलमा प्रतिकिलो भारु ६०० मा खरीद गरिएको काजुमा प्रतिकिलो भारु सय क्यारियर चार्ज दिएपछि वीरगंज गोदामसम्म पुग्ने गरेको छ । भन्सार नाकाभन्दा अवैधरूपमा भित्रिने काजु प्रतिकिलो रु तीन सय कम पर्ने भएकोले व्यवसायीहरूले तस्करीको माध्यम रोजेका हुन् ।
अवैधरूपमा भित्रिएको आठ सय किलो काजु सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंह, वीरगंज भन्सारका अधिकृत दीपेन्द्र शर्मा पौडेलको टोलीले पूर्वसूचनाको आधारमा बरामद गरेको हो । उक्त काजुको मूल्य करीब सात लाख पर्छ ।
त्यस्तै, किसमिस आयात गर्दा नेपालको भन्सारको सन्दर्भ मूल्यपुस्तिकामा प्रतिकिलो भारु दुई सयभन्दा घटीमा जाँचपास गर्न नमिल्ने भनी उल्लेख छ । तर रक्सौलमा प्रतिकिलो भारु १४० र किलोमा भारु २५ क्यारिङ चार्ज दिएपछि भारु १६५ अर्थात् नेरु २३५ को दरमा किसमिस वीरगंजका व्यवसायीहरूको गोदाममा पुग्छ ।
सन्दर्भ मूल्यपुस्तिकामा किसमिसको मूल्याङ्कन दर प्रतिकिलो भारु दुई सय राखिए तापनि भारतीय बजारमा प्रतिकिलो भारु १२५ मा किसमिस पाइन्छ । मानौं रक्सौलबाट भारु १२५ मा एक किलो किसमिस खरीद गरी बढी हुने भारु ७५ को ५० प्रतिशत जरिवाना अर्थात् भारु ३७.५ जोड्दा खुद खरीद मूल्य भारु १६२.५० हुन्छ । त्यसमा १५ प्रतिशत भन्सार महसूल, १५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूअकर जोड्दा प्रतिकिलो किसमिस भारु ३१४ पर्छ । यसरी भारु ३१४ को नेरु ५०२ हुन्छ ।
अवैधरूपमा २३५ प्रतिकिलोको दरमा किसमिस भिœयाइरहेको व्यवसायीले प्रतिकिलो ५०२ को दरमा भन्सार नाकाबाट किन भिœयाउँछ ? आवश्यक खाद्यवस्तुमा भन्सार राजस्वको दर नै अव्यावहारिकरूपमा राखिएकाले व्यवसायीहरूले वैधानिक बाटोभन्दा अवैधानिक बाटो तस्करीबाट ड्राई फ्रूट्स पैठारी गरी नेपालका विभिन्न ठाउँमा आपूर्ति गरिरहेका छन् ।
त्यसैगरी, मसलामा इलाइचीको आयात ठप्प छ । इलाइची तेस्रो मुलुकबाट आयात हुने गर्छ । अन्तर्राष्ट्रिय बजारमा इलाइचीको मूल्य प्रतिकिलो ८.२५ डलर रहेको छ भने भन्सारको सन्दर्भ मूल्यपुस्तिकामा प्रतिकिलो १२.५ डलरभन्दा कममा जाँचपास गर्न नमिल्ने भएकोले व्यवसायीहरूले इलाइचीको आयात बन्द गरेका छन् ।
त्यसैगरी ओखर, ल्वाड्ढो आयात पनि घटेको बुझिएको छ । नेपाल सरकारले छोहडा आयातमा
प्रतिबन्ध लगाए पनि नेपाली बजारमा छोहडा छ्याप्छ्याप्ती पाइने गरेको देख्न सकिन्छ ।
भन्सार नाकाबाट आयात ठप्प पारी अवैधरूपमा ड्राई फ्रूट्स भित्रिरहेको घटनाबारेमा वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू पनि गम्भीर भएका छन् । वीउवासङ्घका उपाध्यक्ष माधव राजपालले यस विषयमा आफूलाई धेरै जानकारी नभएको बताउँदै आर्थिक मन्दीले गर्दा अवैध व्यापार फस्टाएको हुन सक्ने बताए । उनले आर्थिक मन्दीकै कारण सरकारले व्यवसायीहरूलाई चारैतिरबाट घेरिरहेको र त्यसैबाट आजित भएर केही व्यवसायीहरू गलत बाटोमा गएकाले उनीहरूलाई सही बाटोमा ल्याउन वीउवासङ्घले प्रयास गर्ने बताए ।
उनले भने, “हामीले राज्यको नीति नियमलाई आत्मसात् गरेर व्यवसाय गर्नुपर्छ । छोटो समयमा धेरै कमाउने लोभमा गलत बाटोबाट गयौं भने त्यो धेरै दिन टिक्दैन । र यस्ता विकृतिहरूलाई हटाउनको लागि सरकारले पनि जिम्मेवार भएर व्यवसायीहरूको लागि व्यावहारिक नीति ल्याउनुपर्छ ।” उनले अन्तर्राष्ट्रिय बजारमा समयसमयमा मालवस्तुको दाम घटबढ हुने भएकाले अन्तर्राष्ट्रिय बजारको आधारमा वैज्ञानिक भन्सार मूल्याङ्कनको प्रणाली विकसित हुनुपर्ने बताए ।
त्यसैगरी, वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा रामप्रसाद मैनालीले चाडबाड नजीकिंदा पनि ड्राई फ्रूट्सका कुनै प्रज्ञापनपत्र एक सातायता नआएको बताए । अहिले ड्राई फ्रूट्सको आयात ठप्प छ, सडक बाटोबाट वीरगंज भन्सार भएर आइरहेको छ, छैन त्यसबारे जानकारी भएन, उनले भने । उनले खुला सीमाका कारण अवैधरूपमा पैठारी हुने मालवस्तुको निगरानी र कारबाईको लागि वीरगंज भन्सार र सशस्त्र प्रहरी जिम्मेवार भएकाले अवैध पैठारी रोक्न अग्रसर हुनुपर्ने उनको सुझाव छ ।
सम्बन्धित पोस्टहरुः