search

spot_img
spot_img

अन्नको भण्डार: मधेशमा ४३ प्रतिशत किसानलाई खान अपुग

पढ्न छुटाउनुभयो ?

वीरगंज
अन्न भण्डारका रूपमा रहेको मधेस प्रदेशमा कृषि कर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो ।
नेपालको कूल जनसङ्ख्यामध्ये ६१ लख १४ हजार छ सय जनसङ्ख्या अर्थात् ११ लाख ५६ हजार सात सय १५ परिवार बसोबास गर्ने मधेस प्रदेशमा सात लाख ३८ हजार तीन सय ४० अर्थात् ६३ दशमलव ८ प्रतिशत परिवार कृषक रहेका तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रदेशका आठ जिल्लामा रहेका ती कृषक परिवारले चार लाख ९२ हजार चार सय ९७ हेक्टरमा कृषि कार्य गर्ने गरेकामा ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षैभरि खान पुग्ने गरेको कृषि गणना २०७८ मा उल्लेख गरिएको छ ।

तथ्याङ्कले अधिकांश कृषक परिवारले जीवन निर्वाहका लागि मात्रै कृषि कर्म गर्ने गरेको देखाएको छ । जसअनुसार कृषि उत्पादनको हिस्सामध्ये १ दशमलव ८ प्रतिशत मात्रै बिक्री गर्ने गरिएको र त्यसबाहेक ६२ दशमलव २ प्रतिशत सबै घरायसी, ३० प्रतिशत मुख्य घरायसी र केही बिक्री तथा ५ दशमलव ६ प्रतिशत मुख्य बिक्री र केही घरायसी प्रयोग गर्ने गरिएको छ । मधेस प्रदेशमा अहिले पनि आम्दानीको मुख्य स्रोत कृषि कार्य हो भनी बताउने कृषकको प्रतिशत ६४ दशमलव ३ छ ।

कृषक परिवारअन्तर्गत मधेसमा जम्मा कित्ता सङ्ख्या २१ लाख ७४ हजार सात सय ९८ र प्रतिकृषक परिवार कित्ता सङ्ख्या २.९ देखाएको छ । यहाँ सबैभन्दा बढी तीन लाख ८४ हजार पाँच सय ५३ हेक्टरमा धानबाली र दुई लाख ४७ हजार छ सय नौ हेक्टरमा गहुँ र ३३ हजार सात सय १९ हेक्टरमा मकै रहेको छ । यहाँ एक बाली सकिनासाथ अर्को बाली लगाउने अर्थात् बाली सघनता १ दशमलव ८७, स्थायी बालीका रूपमा रहेका आँप, केरा र कागती क्रमशः १५ हजार चार सय ३३ हे, एक हजार एक सय ८३ र एक सय ३७ हेक्टर छ । कृषि गणनाको विवरणअनुसार कृषि कार्यका लागि उपकरण प्रयोग गर्ने किसानको सङ्ख्यामध्ये ट्र्याक्टर ६४ दशमलव सात, फलामे हलो २० दशमलव आठ र पावर ट्रिलर चार दशमलव सात प्रतिशत छ । त्यस्तै, मधेस प्रदेशमा १६ दशमलव दुई प्रतिशत कृषक परिवारले कृषि प्रयोजनका लागि ऋण लिएका, एक दशमलव दुई प्रतिशतले मात्रै कृषि बिमा गरेका र तीन दशमलव सात प्रतिशतले सरकारी अनुदान पाएका छन् ।

यहाँ मुख्य कृषकमा ८५ दशमलव आठ प्रतिशत पुरुष र १४ दशमलव दुई प्रतिशत महिला रहेको छन् भने कृषक परिवारमध्ये ३० दशमलव एक प्रतिशतले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गर्ने गरेका छन् । त्यस्तै, मधेस प्रदेशमा गाई गोरुको सङ्ख्या करिब तीन लाख ८० हजार, राँगा भैँसीको सङ्ख्या करिब पाँच लाख २९ हजार, बाख्रा, खसी, बोका, च्याङ्ग्राको सङ्ख्या करिब १४ लाख ४८ हजार तथा कुखुराको सङ्ख्या करिब २४ लाख ६१ हजार रहेको पनि तथ्याङ्कले देखाएको छ ।

के भन्छन् सरोकारवाला ?

कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने नारासहित गरिएको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाले अन्न भण्डारका रूपमा रहेको मधेस प्रदेशकै अवस्था चिन्ताजनक देखाएको छ । प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले सिँचाइ पूर्वाधार, समयमा मल नपाइनु, अनुदानको न्यायोचित वितरण नहुनुलगायत कारणले वास्तविक कृषकलाई जीवन निर्वाह गर्नसमेत समस्या भइरहेको बताए । मन्त्री न्यौपानेले मधेसमा सिँचाइको पर्याप्त सम्भावना भए पनि कृषि क्षेत्र र मधेस सधैँ उपेक्षामा परेका कारण यहाँका कृषकले लाभ लिन नसकेको बताए । त्यसलाई मध्यनजर गरी प्रदेश सरकारले कृषिसम्बन्धी ऐन निर्माण गरी कृषि क्षेत्रको व्यवसायीकरण र नागरिकको आकर्षण बढाउने गरी काम गर्ने योजना बनाएको उनको भनाइ थियो । तथ्याङ्कमा मधेस प्रदेशमा कूल सिञ्चित क्षेत्र ७४ प्रतिशत र सिँचाइ सुविधा लिएका परिवारको सङ्ख्या ८३ प्रतिशत रहेको भनिए पनि अहिले आकाशे पानी र ट्युबवेल, पम्प सेटको सहारामा परम्परागत शैलीको कृषि कर्म गर्नुपर्ने बाध्यता छ ।

प्रदेशसभा सदस्य रामअशिष यादवले समयमा र पर्याप्त पानी नपरेका कारण यही वर्ष मधेसका किसानले भोगेका समस्याबारे कोही अनभिज्ञ नरहेको भन्दै युगान्तकारी परिवर्तन गर्ने सिँचाइ पूर्वाधार नबनाए मधेस मरुभूमि बन्ने खतरा रहेको बताए । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले कृषिप्रधान मुलुक भने पनि त्यसबाट लाभ लिने गरी नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्था तथा रणनीतिक उपयोग गर्न नसक्दा समस्या भइरहेको बताए । मण्डलले कृषिबाट लाभ लिनका लागि अन्य देशले कृत्रिम नदी निर्माण गरिरहेका सन्दर्भ उल्लेख गर्दै नेपालले पनि अन्न भण्डारका रूपमा रहेको मधेस प्रदेशमा चुरेको फेदमा कोसीदेखि नारायणीसम्म कृत्रिम नदी निर्माण गर्न समयमै सोच्नुपर्ने सुझाव दिए ।

मधेस प्रदेशसभा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास (पहाडी) ले कृषिमा आधुनिकीकरण र व्यवसायीकरणका माध्यमबाट किसानलाई आकर्षण गर्नुपर्नेमा जोड दिए । ‘कृषिमा आधारित उद्योगको प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र सिँचाइलगायत पूर्वाधारको विकास गर्ने ठोस नीति नलिएमा आगामी केही वर्षमा अधिकांश जमिन बाँझो र खण्डहर हुने अवस्था आउन सक्छ । त्यसैले सबै तहका सरकार यसमा गम्भीर बन्न जरुरी छ’, उनले भने । राससबाट सभार

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads