कलैया, २६ मंसिर ।
आयोजक डुमरवाना भेट्रान क्लबले प्रथम डुमरवाना भेट्रान कपको उपाधी उचालेको छ । डुमरवाना खेल मैदानमा सोमवार भएको फाइनल खेलमा वीरगंज सिटी भेट्रान क्लबलाई ५–० ले स्तब्ध पार्दै आयोजकले उपाधी उचालेको हो ।
उपाधीसंगै आयोजकले एक लाख नगद हात पारेको छ । उपविजेता वीरगंजले ५० हजार प्राप्त गरेको छ । विजेता र उपविजेता टिमका खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछाने, वडा नं. १३ का वडाध्यक्ष हेमनारायण चौधरी, आयोजक क्लबका अध्यक्ष भरत पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी आयोजक क्लबका बिष्णुदयाल चौधरी घोषित भएका छन् । चौधरीले एक थान साइकल प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट डिफेण्डर बिश्वास साह, सर्वाधिक गोलकर्ता प्रकाश भट्ट र फाइनल खेलको म्यान अफ दि म्याच आयोजक क्लबका गोलरक्षक सुनिल तामाङ घोषित भए ।
मंसिर १९ गतेदेखि शुरू भएको प्रतियोगितामा बारा, पर्सा, मकवानपुर, नवलपरासी र सर्लाहीका गरी १२ टिमको सहभागीता रहेको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका, वडा नं. १५ को कार्यालयको सहयोगमा आयोजित प्रतियोगिताको उदघाटन उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका थिए ।







