वीरगंज
पर्साको एक चर्चित किर्ते मुद्दाको बुधवार थुनछेक बहस हुने भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको किर्ते मुद्दाको मिसिल पर्साको सरकारी वकिलको कार्यालय (जिल्ला न्याधिवक्ताको कार्यालय) पर्सामा गइसकेकोले पर्सा जिल्ला अदालतमा बुधवार थुनछेक बहस हुनेछ । पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमारविक्रम थापाका अनुसार मुद्दाको क्रममा प्रहरीले गर्नेु पर्ने अनुसन्धानपछि दुई जनालाई पक्राउ गरी थप आवश्यक कारवाहीको लागि मिसिल सरकारी वकिलकोमा गएको हो ।
किर्ते गरी पत्नीलाई कान्छी आमा बनाई बुबाको पेन्सनको रकम कुम्ल्याउने घटना हो,पर्सा बहुदरमाई नगरपाालिका–२ सिसियाडीको । बुबा विनोदप्रसाद यादवको निधनपश्चात जेठा छोरा विकासप्रसाद यादवले पत्नी संगीता देवीलाई कान्छी आमा गीता देवी यादवको नाममा किर्ते कागजात खडा गरी नागरिकता बनाई विगत ५ वर्षदेखि पेन्सनको रकम बुझ्दै आएका छन् । हालसम्म करिब २० लाख रकम बुझेको बताइएको छ ।
यस कार्यमा बहुदरमाई नगरपालिका वडा नं २ का वडाध्यक्ष जितेन्द्र पटेलले नागरिकता सिफारिस तथा विवाहदर्ता बनाउन गैरकानुनी रुपमा सिफारिस गरेकोले उनको पनि संलग्नता देखिएको छ । किर्ते मुद्दामा स्व विनोदका जेठा छोरा विकास र निजकी पत्नी संगीतालाई पर्सा प्रहरीले केही साताअघि अनुसन्धानको क्रममा पक्राउ गरेको छ भने किर्ते कार्यमा सहयोग गरेका वडाध्यक्ष पटेल फरार छन् । गत मंसिर १२ गते पर्सा जिल्ला अदालतबाट वडाध्यक्षसहित तीनै जनाको नाममा पक्राउ पूर्जी जारी भएको तर हालसम्म वडाध्यक्ष पटेल पक्राउ परेका छैनन् ।
किर्ते मुद्दाका जोहेरीवाला स्व विनोदका कान्छा भाइ प्रमोदप्रसाद यादव हुन् । आफनो बुबा र दाइ गाउँघरकै प्रतिष्ठित व्यक्ति भएको तर भतिजो विकासले घृणित कार्यमा संलग्न भएको थाहा पाएप्छि विरोधमा उत्रिएको बताए । २०७९ असोज २६ मा किर्ते मुद्दा लिएर प्रमोद गृह मन्त्रालयमा उजुरी दिए । गृहको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय पर्सामा २०७९ मंसिर ९ गते किर्ते मुद्दा दर्ता भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्साले, पर्सा प्रहरीलाई पत्राचार गर्यो । जिल्ला प्रहरी कार्यालय,पर्साले २०८० मंसिर १० गते मुद्दा दर्ता गरी अनुसन्धान अघि बढायो । सोही अनुरुप तीन जना मुख्य अभियुक्त मध्ये २ जना पक्राउ परेका छन् भने १ जना फरार रँहदै आएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेपछि कोष तथा लेखा नियन्त्रकको कार्यालय,पर्सा वीरगंजबाट हरेक महिना बुझ्दै आएको पेन्सन रकम कोलेनिकाले रोकेको छ । मुद्दाको किनारा नलागे सम्म पेन्सन नदिने अवस्थामा कोलेनिकाले जनाएको छ ।
प्रमोदका स्व दाइ विनोद बार्वा विद्यालयका प्रधानाध्यापक हुँदा उनको निधन २०७४ माघ १ गते भएको थियो । सेवारत हँुदा नै उनी विरामी परेर उनको मृत्यु भयो । निजकी पत्नी मीना देवीको त्योभन्दा अघि २०६७ असार ११ गते नै निधन भयो । गाउँलेका अनुसार विनोदको कुनै कान्छी थिएन् । पहिले इच्छाइएको व्यक्ति पत्नीको निधन भएपछि अरुले पेन्सन पाउने नियम छैन ।तर फर्जी कागजात खडा गरी जेठो छोरा विकासकी पत्नी ंगीतालाई गीता देवी यादव बनाएर पेन्सन प्राप्त गरेको खुलासा भएको छ ।
शुरुमा इन्कार गरेको वडाले किन गर्यो सिफारिस
शुरुमा नागरिकता सिफारिस गर्न नमान्दै वडा कार्यालयले निर्णय समेत गरेको अवस्थामा पत्नी संगीता देवीलाई कान्छी आमा बनाएर पर्सा जिल्ला अदालतमा अंश मुद्दा दिएपछि पुनः मुद्दा मिलापत्र गरी नक्कली श्रीमति गीता देवी यादवको नाम कागजात खडा गरेको खुलेको छ । पछि नगरपालिका,नगरप्रमुख,पमुख प्रशासकीय अधिकृति,वडा कार्यालय,वडाअध्यक्ष,वडा सचिवलाई विपक्षी बनाएर परमादेश माग्दै पर्सा जिल्ला अदालतमा रिट गरेपछि अदालतले नियमाअनुसार नाता कायमको सिफारिस गर्न आदेश दियो । अदालतको आदेशमा वडा अध्यक्षसहित वडा कार्यालयले पर्सा जिल्ला अदालतको विरुद्धमा उच्च अदालतमा पुनरावेदन गर्नूपर्ने अवस्थामा वडा अध्यक्षले किर्ते सिफारिस गर्न बाध्य भए ।
वडा सचिवले नाता प्रमाणित लेख्नु पर्नेमा स्वयम वडा अध्यक्षले नै कार्यालयको लेटर प्याडमा हस्ताक्षर गरी नाता प्रमाणित गरे र सो को अभिलेख समेत कार्यालयबाट गायब गरे । जोहेरवाला प्रमोदका अनुसार यदि साच्चै संगीता देवी र गीता देवी यादव फरक फरक पात्र हुन् भने दुबैलाई पर्सा जिल्ला अदालतमा हाजिर गराउन चुनौती दिए । यसअघि जिल्ला प्रशासन कार्यालय पर्सामा परेको किर्ते मुद्दाको अनुसन्धानको क्रममा विकासले आफनी साली मन्जु देवीलाई संगीता देवी भएको भन्दै उपस्थित गराउँदै आएका थिए । मन्जुको विवाह भारत,विहार पुर्वी चम्पारणमा भएको र उनका श्रीमानको नाम बिहार बस्ने किशोरी यादव हो भन्ने प्रमाण पनि फेला परिसकेको छ । यद्यपी पेन्सन हत्याउने छोरा विकासले आफना छोरा आर्यन कुमार यादवको वडा कार्यालयबाट जन्मदर्ता बनाउँदा आर्यनकी आमा संगीता देवी नै रहेको जन्मदर्तामा उल्लेख छ ।
अख्तियारलाई पनि विपक्षी बनाइयो
यसै मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले गरेको अनुसन्धानप्रति चित नबुझेपछि जोहेरवाला प्रमोद यादव उच्च अदालत पाटनको हेटौडा इजलाशमा रिट गरेका छन् । अख्तियारले गत असार ५ गते निवेदकले पर्याप्त प्रमाण नदिएको कारण मुद्दा तामेलीमा राखेको भन्दै गरेको निर्णयप्रति जाहेरवालाले गत असोज ७ गते उत्प्रेशण परमादेशको रिट दायर गरेका छन् । उनले अख्तियारमा प्रमाणसहित २०७९ असोज २६ मा अदुअआ हेटौडामा किर्ते मद्दामा छानविन गर्न उजुरी दिएका थिए । तर अख्तियारले राम्ररी अनुसन्धान नगरेको भन्दै मुद्दा तामेलीमा राखेकोले उच्च अदालत गएको उनले बताएका छन् । उच्च अदालत पाटनको हेटौडा इजलाशले गत मंसिर ११ गते प्रारम्भिक आदेश गरेको छ । उच्च अदालतले स्वर्गी विनोद प्रसाद यादव र कान्छी श्रीमति गीता देवी यादवको विवाह दर्ताको सकल रजिष्टर र वडा अध्यक्ष जितेन्द्र पटेलको अध्यक्षतामा बैठक बसेको २०७४ फागुन १५ गतेको सक्कल निर्णय पुस्तिका झिकाई पेश गर्न अख्तियारको नाममा आदेश दिएको छ ।