वीरगंज दिल्ली पब्लिक स्कूल (डिपिएस) वीरगंजको आयोजनामा अन्तर विद्यालय नवौं ‘सिजि इजुकेशन कप’ शुभारम्भ भएको छ । बारा,परवानीपुर–४ चैनपुरस्थित विद्यालय परिसरको खेलमैदानमा प्रतियोगिताको उद्घाटन श्री श्रीजंग वीरगंजका प्रमुख सेनानी डायमण्ड कार्कीले म्याच रेफ्रीलाई वल दिएर प्रतियोगिताको उद्घाटन गरे ।
बालबालिकाको चौतर्फी विकासको लागि खेलकुदको अहम भूमिका हुने भएकोले विद्यालय जीवनबाट नै प्रतिभावान खेलाडी पहिचान गर्न यस्तो प्रतियोगिता आयोजना हुनु राम्रो कुरा भएको उनले बताए । यस प्रतियोगिताको विद्यार्थीहरुको जीवनमा महत्वपूर्ण भूमिका रहने छ,फूटबल क्रेजी विद्यार्थीको लागि एउटा राम्रो माध्यम हुनेछ यो प्रतियोगिता,उनले भने ।
प्रतियोगिताको उद्घाटन समारोहका अर्का वक्ता विद्यालयका शैक्षिक निर्देशक डा. भूषण गुरुङ्गले खेलमा सफलता पाउन जसरी टिम स्पिरिटमा गोलबद्ध भएर खेलिन्छ,त्यसैगरी नै जीवनको अप्ठेरामा सफलता पाउनको अनुशासित बन्नु आवश्यक रहेको बताए । उनले खेलकुदले सीप सिकाउने प्लेटफर्म भएको पनि चर्चा गर्दै विद्यालयस्तरमा फूटबलको गतिविधिले भोलीको दिनमा स्टार फूटबलर खोज्न यो प्रतियोगिता कोशेढुङगा साबित हुने पनि उनले विश्वास व्यक्त गरे ।

‘फूटबलमा एकजुट र अनुशासित भएर खेल्ने टिमले जित्छ,’उनले भने,‘त्यसरी नै विद्यार्थीहरुले जीवनमा अनुशासित जब सम्म बन्दैन जीवनको खेलमाथि सफलता हासिल गर्न सक्दैनन् ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिखमचन्द्र अग्रवालको अध्यक्षतामा सम्पन्न समारोहमा विद्यालयका प्रिनिसपल रञ्जीव आनन्दले स्वागत मन्तव्य व्यक्त गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएका थिए ।
उद्घाटन समारोहमा पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ,परवानीपुर गापाका शिक्षा शाखा प्रमुख विद्यानन्द यादव,पर्सा फूटबल संघका अध्यक्ष अनिल कलवार,प्याब्सन पर्साका अध्यक्ष पूरन प्रधान,साउथजोट माविका प्रिन्सिपल सरोज चौधरीलगायतको सहभागिता थियो । उद्घाटन समारोहपछि सम्पन्न प्रथम खेलमा डिपिएसले डिएभी वीरगंजलाई शून्यको विरुद्ध ७ गोल अन्तरले पराजित गरेको थियो ।
निर्धारित खेलमा डिएभीले एउटा गोल पनि गर्न सकेन । डिपिएसले गरेको सात गोल मध्ये प्रनीस श्रेष्ठले एक्लै चार गोल गरेका थिए । पुस १३ गते सम्म चल्ने यस प्रतियोगितामा पर्सा,बारा,मकवानपुर र चितवनका १६ वटा निजि विद्यालयहरुको सहभागिता छन् ।
प्रतियोगितामा सनराइज स्कूल चितवन,सोलाडिरीटि एकेडेमी हेटौडा,बाराबाट मोर्डन स्कूल परवानीपुर,सिमराका लोटस एकेडेमी,सिमरा पब्लिक स्कूल,ब्राइटर,शुभतारा,न्यू एकता स्कूल रहेका छन् । पर्साबाट गौत्तम,डिएभी,साउथजोन,जीवनज्योति,कादम्बरी,ज्ञानदा,डिपिएस,लिटल फलावर स्कूल रहेका छन् । प्रतियोगिताको विजेताले रु १५ हजार र उपविजेताले रु ७ हजार पुरस्कारसहित शिल्ड र मेडल पाउने छन् ।
Facebook Comments Box