विन्ध्यवासिनी गापा भयो पूर्ण खोप घोषणा

वीरगंज,२ माघ पर्साको विन्ध्यवासिनी गाउँपालिका पूर्ण खोप घोषणा भएको छ । गापाको प्रसौनीभाठ्ठास्थित श्री मसरुर पब्लिक स्कूलमा आयोजित एक समारोहका वीच ५ वडा रहेको गापालाई पूर्ण खोप घोषणा गरिएको हो । जिल्ला समन्वय समिति पर्साका सभापति एवं जिल्ला खोप समन्वय समिति पर्साका संयोजक निरन्जन साह सोनार र कार्यक्रमका विशिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले संयुक्त रुपमा पूर्ण खोप घोषणाको प्रमाण पत्र गापा अध्यक्षलाई हस्तनान्तरण गरे ।
प्रमुख अतिथि समेत रहेका खोप समितिका संयोजक सोनारले घोषणा गरेपछि कार्यक्रममा बोल्दै भने,‘पर्सामा १४ वटा पालिका मध्ये १२ औं नंम्बरमा विन्ध्यवासिनी गाउँपालिका पूर्ण खोप घोषणा भयो अब माघको अन्तिम साता अन्य दुई पालिका धोबिनी कालिकामाई पनि घोषणा गर्ने तयारी छ ।’ चैत मसान्त सम्म जिल्लालाई पूर्ण खोप घोषणा गर्ने तयारी रहेको उनले बताए ।
गापा अध्यक्ष प्रमोद तिवारीले कार्यक्रम २०७१ सालमै शुरु भए तापनि करिब ९ वर्षपछि पालिका पूर्ण खोप घोषणा भएपछि बालबालिकाको खोपको अधिकारमा पालिकामा सुनिश्चित भएको जानकारी गराए । विगतमा प्राविधिक कुरा नमिल्दा पूर्ण खोप घोषणा नभए पछि अहिले पूर्ण खोप घोषणा भएपछि स्वास्थ्य क्षेत्रमा पालिकालेले फडको मारेको बताए । उनले पूर्ण खोप घोषणा मात्रै गरेर नहुने र यसलाई दिगो रुपमा पनि पालिकामा जन्मिने कोही बच्चा खोपको सेवाबाट नछुटुन भन्ने उदेश्यका साथ स्वास्थ्यकर्मीहरुले सेवालाई निरन्तरता दिइनु पर्नेमा उनले जोड दिए । कार्यक्रममामा पर्साका प्रमुख जिल्ला अधिकारी मानव जीवन र मानवअधिकारको दृष्टिकोणले स्वस्थ बालबालिका हुर्काउन र दक्ष जनशक्ति उत्पादनको लागि राज्यले खोपमै बर्षेनी करोडौं रकम खर्च गरिरहेकोले उक्त सेवाबाट पनि लाभ लिन गाउँवासीलाई अपिल गरे ।विन्ध्यवासिनी गापाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले पूर्ण खोप कार्यक्रम घोषणा भएपछि अगामि दिनमा यसको अन्य व्यवस्थापनको विषयमा पालिका गम्भीर भई कर्मचारीको उच्च मनोबल बनाई स्वास्थय सेवा नै प्रभावकारी बनाउन मद्दत गर्ने प्रतिबद्धता जनाए ।
गापा अध्यक्ष तिवारीको अध्यक्षता र गापाका कर्मचारी रामप्रवेश साहले सहजीकरण गरेको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरन पटेल,स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, सोही कार्यालयका प्रतिनिधि विनोद झा, खोप वितरणका मोहनलाल साहलगायतको सहभागिता रहेको विन्ध्यवासिनी गापाका स्वास्थ्य शाखा प्रमुख नरेशप्रसाद चौहानले बताए । कार्यक्रममा सास्कृतिक कार्यक्रम एवं निचुटा माविका शिक्षक देवेन्द्र साहले मनोरञ्जन गराउन जादुको ट्रिक्स देखाएका थिए । सोही अवसरमा गापामा कार्यरत ३६ जना महिला स्वास्थ्य स्वस्मसेविकालाई छाता र झोला वितरण गर्दै सम्मानित गरियो । त्यसैगरी, गापाको ५ वटा वडामा रहेको एक अधारभूत स्वस्थ्य केन्द्रसहित ५ वटा स्वास्थ्य संस्थालाईसमेत प्रशंसा पत्रसहित सम्मान गरियो ।
घोषणाको लागि पुस २६ गते सर्वेक्षण गरि ५ वर्ष मुनिका बालबालिका मध्ये कोही पनि खोप लगाउन नछुटेको भेटिएपछि पुस २८ गते जिल्ला खोप समन्वय समिति पर्साले घोषणाको लागि सिफारिस गरेको थियो । सर्वेक्षणको क्रममा जन्मदेखि १५ महिना सम्म ७१४,जम्ेदेखि एक महिनाका ६०५,१२ देखि २३ महिना सम्म ६०३ र १६ महीनादेखि पाँच वर्षका १८५८ जनालाई खोप दिनु पर्नेमा ४९ जना खोप कार्यक्रमबाट ड्रपआउट गरेको र ३ जना खोप नलगाएको पाइएको थियो ।
सम्बन्धित पोस्टहरुः