गम्हरिया माविमा अख्तियारको छापा

परवानीपुर, ७ चैत/ बारा जिल्लाको फेटा गाउँपालिका–५ स्थित नेरामावि गम्हरियामा अख्तियारले अनुसन्धान गरेको छ ।
सो विद्यालयमा गत असोजदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजामा अनियमितता गरिएको भन्ने अभिभावकको उजूरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले अनुसन्धान शुरू गरेको हो ।
यसअघिका प्रधानाध्यापक पारसप्रसाद जयसवालको पालामा विद्यालयमा ११ सय विद्यार्थी रहेको भनेर दिवा खाजाबापत महीनाको २४ दिनसम्मको हिसाब गरेर रकम खर्च गर्दै आएकोमा विद्यालयमा यथार्थरूपमा कतिजना विद्यार्थीहरू छन् भनेर अख्तियारको टोलीले अनुसन्धान गरेको हो । अख्तियारको टोलीले विद्यालयमा दुई सय विद्यार्थी मात्र फेला पारेको बताइएको छ । उजूरी परेपछि प्रअ जयसवाललाई गापाको कार्यालयले वडा नं १ मा रहेको त्रिवेणी प्राथमिक विद्यालयमा सरुवा गरेको शिक्षा शाखाले जनाएको छ । मावि तहबाट प्राविधिकको जिम्मेवारी दिइएको छ । अहिले कार्यरत प्रअ पन्नालाल बैठाले आफू अढाई महीना अघि मात्र आएको र आफ्नो कार्यकालमा अनियमितता नभएको बताएका छन् ।
सम्बन्धित पोस्टहरुः