search

जीतपुरसिमरा टी–२० क्रिकेटः जनकपुर विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ चैत/ जीतपुरसिमरा टी–२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा जनकपुर पिस फाउन्डेशनले खुकुरी क्रिकेट क्लब भैरहवालाई ४८ रनअन्तरले पराजित गरेको छ ।
समूह ‘बी’ अन्तर्गतका खेल हिजो वर्षाका कारण स्थगित भएपछि आज सम्पन्न गरिएको हो । जनकपुरले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३२ रन बनाएको थियो । जनकपुरका हिमांशु दत्तले ४७, अखिलेश ठाकुरले २५, रूपेश यादवले अविजित १८, चन्दन यादवले १७ र परशुराम यादवले १४ रन बनाएका थिए । भैरहवाका सन्तोष यादवले चार विकेट लिए भने अजय चौहानले दुई र इकलख वर्सीले एक विकेट लिए ।
जनकपुरले दिएको १३३ रनको लक्ष्य पछ्याएको भैरहवा १७.६ ओभरमा नौ विकेट गुमाउँदै ८४ रनमा सीमित भयो । भैरहवाका लागि अमर मिश्रले २५, प्रकाश गिरीले १४, सन्तोष यादवले १३, मनीष थापाले १२ र निश्चल चौधरीले १० रन बनाएका थिए । अन्तिम विकेट बाँकी छँदा भैरहवाका महेश भार घाइते भएपछि भैरहवाले नौ विकेटमैं इनिङ समाप्तिको घोषणा गरेपछि जनकपुर ४८ रनले विजयी भएको आयोजकले जनाएको छ ।
जनकपुरका रूपेश यादव, रोहन यादव र अभिजीत मण्डलले दुई/दुई विकेट लिए भने विशाल सुस्लिङ, साइमोन रोय, बी धवन सहनीले एक/एक विकेट लिए । जनकपुरका कप्तान हिमांशु दत्त ‘प्लेयर अफ दी म्याच’ घोषित भए र उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाकी वडाध्यक्ष चयन गुरुङले पुरस्कृत गरेकी थिइन् ।
जीतसँगै जनकपुरले प्रतियोगिताको फाइनलमा पुग्ने आशा जीवित राखेको छ । पहिलो खेलमा मकवानपुरसँग ३१ रनले पराजित जनकपुरलाई प्रतियोगिताको उपाधि होडमा उभिन भैरहवाविरुद्ध फराकिलो जीत आवश्यक थियो ।
अब भैरहवालाई पनि प्रतियोगिताको फाइनलमा पुग्न समूह ‘बी’को अन्तिम खेलमा भोलि शुक्रवार मकवानपुरविरुद्ध फराकिलो जीत निकाल्नुपर्ने हुन्छ । भोलिको खेलपछि यसको टुङ्गो लाग्नेछ । तर मकवानपुरले जितेमा समूह विजेता बन्दै फाइनलमा प्रवेश पाउनेछ र चैत १० गते शनिवार हुने फाइनलमा पर्सा क्रिकेट सङ्घसँग भिड्ने अवसर पाउनेछ ।
अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads