छिनछिनमा ट्रिपिङले सर्वसाधारण र उद्योगी मारमा

परवानीपुर, २२ वैशाख/ वीरगंजमा केही सातादेखि विद्युत् आपूर्ति अनियमित बन्न थालेको छ । वैशाखको पहिलो सातादेखि विद्युत् आपूर्ति अनियमित बन्न थालेको हो ।
अत्यधिक गर्मी र लामो समयदेखि वर्षा नभएर नेपालका जलविद्युत् आयोजनाका जलाशयमा पानी कम भएपछि बिजुली उत्पादनमा कमी आएको र भारतमा लोकसभा चुनाव चलिराख्दा त्यहाँबाट विद्युत् आयात कम हुँदा वीरगंजमा विद्युत् माग धान्न धौधौ भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले जनाएको छ ।
वितरण केन्द्र वीरगंजका प्रमुख अवधेश दुबेका अनुसार अहिले वीरगंजमा दैनिक करीब तीन सय मेगावाट विद्युत्को माग रहेकामा करीब २५० मेगावाट मात्र आपूर्ति भइरहेकोले विद्युत् सेवा प्रभावित भएको बताए । यता, वीरगंजमा २४सैं घण्टा विद्युत् अनियमित हुँदा सर्वसाधारण उपभोक्तादेखि वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरू पनि प्रभावित भएका छन् । एकजना उद्योगीका अनुसार दैनिक छ घण्टाभन्दा बढी अघोषित लोडसेडिङ भइरहेको छ ।
वीरगंज र ग्रामीण क्षेत्रका विभिन्न फेडरमा समेत छिनछिनमा विद्युत् कट्ने समस्याले सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।
सम्बन्धित पोस्टहरुः