चितवन । यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमअन्तर्गत चितवनका ३६ हजार सात सय १४ बालबालिकालाई आइपिभी खोप लगाउने तयारी गरिएको छ ।
विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मका बालबालिकालाई यही जेठ १३ गतेदेखि देशभर एकैसाथ सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने सरकारको निर्धारित कार्यक्रमअन्तर्गत चितवनमा पनि खोप कार्यक्रम तय गरिएको हो ।
चितवनका सातै पालिकामा पोलियो विरुद्धको खोप लगाउने तयारी गरिएको आज स्वास्थ्य कार्यालय चितवनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
खोप कार्यक्रमका संयोजक जयराम दुवाडीले भरतपुर महानगरपालिकामा १९ हजार २९४ जना, रत्ननगर नगरपालिकामा ४ हजार ३६९, राप्तीमा ३ हजार ८५३, कालिकामा २ हजार ३३४, खैरहनीमा ३ हजार २६१, माडीमा २ हजार १२९ र ईच्छाकामनामा १ हजार ४७४ जनालाई खोप लगाउने तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप कार्यक्रम सम्पन्न गर्न सबै पालिकामा गरी ५१० खोप केन्द्र, ४१२ जना स्वास्थ्यकर्मी, ७२३ जना स्वयंसेवक परिचालन गरिनेछ ।
पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायी रुपमा पक्षघात तथा मृत्यु हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने जनाइएको छ ।