ताप्लेजुङ । ताप्लेजुङ पर्यटक महोत्सवको अवसरमा सञ्चालित खुल्ला म्याराथनको उपाधि नेपाल आर्मीका हेमलाल श्रेष्ठले हात पार्नुभयो ।
आर्मी क्लबका श्रेष्ठले ४८ किलोमिटरको निर्धारित दुरी ४ घण्टा ५ मिनेट २७ सेकेन्डमा पार गर्नु भएको हो । ताप्लेजुङ सदरमुकाम फुङलिङ देखि पाथीभरा-मुक्कुमलुङ) मन्दिर देखि पुन फुङलिङ सम्मको दुरी पुरा गर्दै उहाँले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । सो दुरी ४ घण्टा १२ मिनेट ४८ सेकेन्डमा पार गर्दै तिलक सुनुवार उपविजेता बन्नुभयो । उहाँले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
म्याराथन अन्तर्गत महिलातर्फको हाफ म्याराथन प्रतियोगिताको उपाधि आर्मीका सुनसरी रोक्काले प्राप्त गर्नुभयो । उहाँले निर्धारित दुरी फुङलिङको पाथीभरा चोक देखि काफ्ले पाटीदेखि पुनःफुङलिङसम्मको ३९किलोमिटर निर्धारित दुरी ३ घण्टा ४४ मिनेट ५२ सेकेन्डमा पार गर्दै उपाधि हात पार्नुभएको हो । प्रथम रोक्काले ८१ हजार १ सय ११ रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै ताप्लेजुङ फङलिङका कुमारी गुरुङले ५१ हजार १ सय ११ रुपैयाँ नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्दै उपविजेता बन्नुभएको ताप्लेजुङ पर्यटन महोत्सवका सदस्य सचिव देवराज गुरुङले जानकारी दिनुभयो । खुल्ला म्याराथनमा १ सय १३ जना र महिला हाफ म्याराथन प्रतियोगितामा ४७ जनाले सहभागिता जनाएका थिए ।
ताप्लेजुङमा ‘स्थानीय अर्ग्यानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ विगत पाँच दिन देखि ताप्लेजुङ पर्यटन महोत्सव फङलिङमा सुरु भएको छ ।