विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली कांग्रेस गम्भीर हुनुपर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राजनीतिक गतिरोध अन्त्य गर्न काँग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक मूल्यमान्यताको अभ्यासलाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले लोकतान्त्रिक मूल्य मान्यतालाई बिर्सेर नेपाली काँग्रेसले संसद्मा गर्दै आएको गतिविधिले काँग्रेसलाई फाइदा नहुने बताउनुभयो । काँग्रेसले गरिरहेको सदन अवरोध केवल सत्ताका लागि भएको उहाँको भनाई थियो । राजनीतिक स्थायित्वका लागि दलहरू एक हुनुपर्ने वेलामा काँग्रेसले यो गतिविधिले प्रतिगामी शक्तिलाई बल पुग्ने उहाँले बताउनुभयो ।
एक प्रश्नमा उहाँले सत्तापक्षले प्रतिपक्षलाई पेलेर जाने भन्ने प्रश्नै आउँदैन भन्नुहुँदै आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने कांग्रेसका सोचका कारण यो अवस्था आएको बताउनुभयो । प्रधानमन्त्रीले संसदवाट विश्वासको मत लिन्छु भनेपछि त्यसलाई अवरोध गर्न नमिल्ने उहाँको भनाई थियो । उहाँले नेकपा एमाले मुलुकमा राजनीतिक स्थायित्व , सुशासन, र मुलुकको समृद्धि चाहेको बताउनुभयो । उहाँले आफ्नो पार्टी सत्ता स्वार्थका लागि भन्दा पनि मुलुकको समग्र विकासका लागि केन्द्रित रहेको बताउनुभयो।