पोखरा । खेलकुदको शहर पोखरामा यही जेठ १८ गते (शुक्रबार) देखि राष्ट्रिय स्तरको पोखरा सेभेन्स रग्बी प्रतियोगिता–२०२४ हुने भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समिति र गण्डकी प्रदेश रग्बी सङ्घको आयोजनामा यही १९ गते सम्म उक्त प्रतियोगिता पोखरामा हुने बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो ।
पोखरा रङ्गशालामा हुने प्रतियोगितामा देशका ७ वटा प्रदेशका ७ टिम, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ सहभागी हुने समितिका अध्यक्ष दीपक बहादुर गोदारले बताउनुभयो ।
प्रतियोगिताका विजेता टिमलाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुनेलाई २० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडी एसिया रग्बीको आयोजनामा आउँदो असोजमा हुने एसिया सेभेन्स रग्बी प्रतियोगितामा सहभागी हुने अध्यक्ष गोदारले बताउनुभयो । एक टिममा प्रदेशका १२ जना खेलाडी र ३ जना अफिसियल गरी १५ जना सहभागी हुँदै हुनुहुन्छ ।
त्यस अवसरमा विद्यालय स्तरीय आइटी रग्बी प्रतियोगिता समेत हुने संघ गण्डकी प्रदेशका सदस्य सचिव सुवास खड्काले बताउनुभयो । प्रतियोगितामा विजेतालाई ८ हजार, उपविजेतालाई ६ हजार, तेस्रो हुनेलाई ४ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा १० वटा विद्यालय सहभागी हुने छन् ।