पोखरामा सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न माग, सुटिङ संघ गण्डकीको पदस्थापना

1200x150_1200x150-01.jpg (1)

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न माग गरिएको छ । सुटिङ संघ गण्डकीको शनिबार साँझ पदस्थापना तथा शुभकामना आदान प्रदान गरेको कार्यक्रममा सहभागीहरूले नेपालले पदकको आशा गरिएको खेल सुटिङको प्रबद्र्धन गर्न पोखरामा  ट्रेनिङ सेन्टर स्थापना गर्न माग गर्नु भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी उत्पादनमा जोड दिँदै अर्जुन दृष्टिका साथ सुटिङ खेलको विकास गर्न आग्रह गर्नु भयो । मिहेतनका साथ अब प्रशिक्षण अघि बढाई अन्तर्राष्ट्रिय जगतमै सफलता हासिल गरि गौरव गर्ने नतिजा ल्याउन शुभकामना दिनु भयो । उहाँले अब केही समय पछि आफु मुख्यमन्त्री हुने आशय व्यक्त गर्दै हाल केही दिन बिदामा रहेको उल्लेख गर्नु भयो । 

सुटिङ संघका केन्द्रिय अध्यक्ष पुष्पदास श्रेष्ठले २४ बर्ष अघि ओलम्पिकमा सहभागी यस क्षेत्रका खेलाडीहरूको प्रदर्शन पछिल्लो क्रममा गुमनाम जस्तै भएकोले अब पदक ल्याउने गरी जिम्मेवार भएर काम गर्नुपर्ने बताउनु भयो । उक्त खेलबाट नेपाललाई पदकको आशा गरिएकोले आवश्यक पर्ने प्राविधिक सहयोग सङ्घले उपलब्ध गराउने वचन दिनु भयो । 

सुटिङ संघका सल्लाहकार राजेशकुमार गुरुङले रङ्गशालामा भौतिक संरचनामा विशेष ध्यान दिन आग्रह गर्दै सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न माग गर्नु भयो । सुटिङ खेल नेपालको ओलम्पिकमा सम्भावना भएको खेल भएकाले यो खेलको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने उहाँको भनाई थियो ।  

ओेलम्पियन तथा सुटिङ सङ्घकी केन्द्रिय उपाध्यक्ष भगवती केसी खत्रीले सुटिङ खेलको प्रवर्द्धन गर्न आवश्यक भएको बताउनु भयो । २४ वर्षअघि आफु ओलम्पिक खेलेको स्मरण गर्दै उहाँले अहिले गण्डकी प्रदेश र बागलुङ जिल्लाले सम्मान गर्दै ओलम्पिक खेलाडीका लागि मासिक पाँच/पाँच हजार रुपैयाँ भत्ता प्रदान गरेको सुनाउनु भयो । 

आठौँ पोखरा स्पोट्र्स अवार्डका क्रिकेटका उदीयमान खेलाडी अर्जुन कुमालले आफ्नो खेल यात्रा सुनाउँदै १३ वर्षको उमेरदेखि क्रिकेट सुरु गरेको बताउनु भयो । नेपाल प्रहरीका डिआइजी दुर्गा सिंहले अनुशासन र कर्मनिष्ठ भई खेल्न आग्रह गर्नु भयो । मानिसहरू अधिकार खोज्ने तर कर्तव्य पालना नगर्दा खेलाडी उत्पादन र रिजल्ट आउन नसक्ने बताउँदै खेलकुदको माध्यमबाट देशलाई योगदान दिन उहाँले सुझाव दिनु भयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले ओलम्पिकमा पुग्नु खेलाडीका लागि ठूलो सपना रहेको बताउनु भयो । 

गण्डकी प्रदेश सुटिङ सङ्घको गठनसँगै कार्यसमितिमा निर्वाचित भएकाहरूको आइतबार पदस्थापना गराएको छ । मोतीराम गुरुङको अध्यक्षतामा सङ्घको निर्वाचन १४ जेठमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित हुनु भएको थियो । सङ्घको उपाध्यक्षमा दलराज पुन र लोक श्रेष्ठ, महासचिवमा पुरन कुँवर, सचिवमा विज्ञान्त श्रेष्ठ, कोषाध्यक्षमा बुद्ध गुरुङ सर्वसम्मत निर्वाचित भएका हुनु भयो भने यस्तै सङ्घको सदस्यहरूमा विजय कार्की, ऋषिकेश शर्मा पौडेल, खम्बा गुरुङ, प्रश्नसिंह ठकुरी, डविन गुरुङ, माया बस्नेत, आरसी राज भण्डारी, चीनबहादुर थापा, सूर्यबहादुर थापा र विवश क्षेत्री (काजी) रहनु भएको छ । संघका नवनिर्वाचित अध्यक्ष मोतीराम गुरुङले पोखरा रङ्गशालामा सुटिङका लागि जग्गा रहेको र त्यसको संरक्षण पहिलो काम रहेको बताउनु भयो । उनले अब गण्डकीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुटिङ रेन्ज निर्माणका लागि आफूहरू लाग्ने र खेलको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

सम्बन्धित पोस्टहरुः