search

spot_img
spot_img

आजदेखि युरो फुटबल ‘फिभर’

पढ्न छुटाउनुभयो ?

काठमाडौँ । विश्वकपपछिको बहुप्रतीक्षित फुटबल मेला मानिने युरोपियन फुटबल प्रतियोगिता शुक्रबार अबेर राति जर्मनीमा सुरु हुँदै छ ।

आयोजक जर्मनीले स्कटल्यान्डसँगको खेललगत्तै युरो कप प्रारम्भ हुने छ । विश्वकपपछि यो फुटबलको सबभन्दा ठुलो मेला हो तर फुटबल विशेषज्ञहरू युरोपेली प्रतियोगितालाई विश्वकपभन्दा पनि प्राविधिक रूपमा उच्चस्तरको मान्छन् । युरोपेली टिमको खेलस्तर अन्य महादेशको भन्दा उच्च भएकाले यस्तो मानिएको हो । त्यसैले छनोट प्रतियोगितादेखि नै युरोपेली फुटबलको चर्चा हुने गर्दछ । 

युरो कप जर्मनीमा तेस्रो पटक आयोजना हुँदै छ । सन् १९८८ मा पश्चिम जर्मनीले पहिलो पटक युरो कपको आयोजना गरेको थियो । त्यसपछि सन् २०२० को संस्करणका केही खेल पनि जर्मनी आयोजक थियो । यसै गरी सन् २००६ मा जर्मनीले विश्वकप फुटबलको पनि आयोजना गरेको थियो । 

द्वन्द्वको छायाबिच युरो

सन् २००६ मा जर्मनीले विश्वभरका फुटबल समर्थकलाई न्यानो आतिथ्यसहित चाडपर्वको माहोलमा सफलतापूर्वक विश्वकप फुटबल आयोजना गरेको थियो । यद्यपि यसपालि जर्मनीले फरक राजनीतिक परिवेशमा युरो कप गर्दै छ । रुसले युक्रेनमा आक्रमण गरेपछि युरो विनाशकारी द्वन्द्वको छायामा हुँदै छ । युरोपेली फुटबल महासङ्घको निलम्बनमा परेका कारण यस प्रतियोगितामा रुसको उपस्थिति छैन । युक्रेनले भने युरो कप खेल्दै छ । युद्धको चपेटमा पनि युक्रेनले छनोट चरण अन्तर्गत आफ्नो घरेलु खेल जर्मनीमै खेलेको थियो । त्यसैले जर्मनीमा युक्रेनी खेलाडी तथा समर्थकको न्यानो स्वागत हुने पक्का छ । जर्जियाको फुटबल टिमले पनि घरेलु राजनीतिक सङ्कटबिच जर्मनीमा खेल्दै छ । यसै गरी आयोजक जर्मनीसमक्ष सधैँ जसो युरोपेली च्याम्पियनसिपमा समर्थकबिच हुने हुलदङ्गा पनि चुनौतीका रूपमा रहने छ । जर्मनीमा नेताहरूमाथि भएको शृङ्खलाबद्ध आक्रमणका कारण पनि युरो २०२४ मा आतङ्कवाद र राजनीतिक हिंसाको खतरा पनि ठुलो चिन्ताको विषय हो ।

उपाधि दाबेदार

जर्मनी र स्पेनले सर्वाधिक तीन तीन पटक युरो कप जितेका छन् । यसै गरी इटाली र फ्रान्स दुई दुई पटकको युरो विजेता हुन् । यसपालि जर्मनी, इङ्गल्यान्ड, स्पेन र फ्रान्स जस्ता परम्परागत हेभिवेट टिमलाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । गत विजेता इटालीले पनि उपाधि रक्षा गर्न भरमग्दुर प्रयास गर्ने छ । यद्यपि युरो च्याम्पियनसिपमा परम्परागत शक्तिशाली फुटबल राष्ट्रहरूले पनि सङ्घर्ष गर्नु परेका उदाहरण धेरै छन् । व्यस्त घरेलु लिगमा लगातार खट्नु परेकाले नामी खेलाडीहरू युरोमा प्रायः आआफ्नो क्षमता अनुसार प्रदर्शन गर्ने सक्दैनन् । 

इङ्ग्ल्यान्डले सन् १९६६ मा विश्वकप फुटबल जितेपछि प्रमुख फुटबल उपाधि जित्न सकेको छैन । पछिल्लो युरो कपमा इङ्गल्यान्ड उपाधिको निकै नजिक पुगेको थियो तर इटालीसँग घरेलु मैदानमा टाइब्रेकरमा हारेपछि इङ्गल्यान्डको प्रमुख प्रतियोगिताको पखाई अझै लम्बियो । दुई वर्षअघि सम्पन्न विश्वकपको फाइनलमा फ्रान्सले अर्जेन्टिनासँग टाइब्रेकरमै हार बेहोरेको थियो । जर्मनीलाई आयोजकको हिसाबले मात्र दाबेदार मानिएको छ । अन्यथा जर्मनीले हालका प्रमुख प्रतियोगितामा निराशाजनक प्रदर्शन गर्दै आएको छ । यद्यपि जर्मनी अन्तर्राष्ट्रिय मैत्री खेलमा नेदरल्यान्ड्स र फ्रान्सलाई हराएर उच्च मनोबलसाथ युरोमा खेल्ने छ । प्रतिभाशाली खेलाडीको जमात रहेकाले स्पेनलाई पनि दाबेदारका रूपमा लिइएको छ । पछिल्ला दुई विश्वकपमा छनोट हुन नसकेको इटालीलाई खासै भाउ दिइएको छैन तर यसबिच इटालीले युरो कप जितेको थियो । यसै गरी नेदरल्यान्ड्स, बेल्जियम र विश्वकपमा तेस्रो भएको क्रोसिया पनि हेर्नलायक टिमका रूपमा रहने छ । यसपालि जर्जिया युरो कपमा नवप्रवेशी टिमका रूपमा रहेको छ । अल्बानिया, स्लोभेनिया, सर्बिया र रोमानियाले पनि यसपालि पुनरागमन गरेका छन् । यसपालि स्विडेन, रुस र वेल्स जस्ता टिम छनोट हुन सकेनन् ।

हेर्नलायक खेलाडी

युरो २०२४ मा केही त्यस्ता खेलाडी छन्, जसमा समर्थकको मात्र होइन उनीहरूकै टिमले पनि धेरै आशा राखेका छन् । यस पटक रियल म्याड्रिडलाई स्पेनी लिग र च्याम्पियन्स लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेल्ने इङ्गल्यान्डका युड बेलिङ्घम, फ्रान्सका किलियन एमबापे, बायर लिभरकुसनलाई यस सत्रमा अपराजित टिम बनाउन सहयोग गर्ने जर्मनीका फ्लोरियन रिट्ज, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो तथा स्पेनका रोड्री हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ ।

अभागी खेलाडी

प्रत्येक संस्करणमा जस्तै यस पटक पनि केही स्टार खेलाडी चोटले तथा छनोट हुन नसक्दा मैदान बाहिर रही टुलुटुलु युरो कप हेर्न बाध्य हुने छन् । नर्वे छनोट नहुँदा अहिले विश्वका सर्वश्रेष्ठ स्ट्राइकरमध्ये एक मानिएका इर्लिङ हालान्डको खेल युरो च्याम्पियन्समा देख्न पाइने छैन । यसै गरी बेल्जियमका गोलरक्षक थिबाउट कोर्टो (घाइते), फ्रान्सका करिम बेन्जामा (सन्न्यास) र इङ्गल्यान्डका मार्कस र्यासफर्ड (टिममा पर्न असफल) जस्ता विश्वचर्चित फुटबलर पनि यसपालिको युरोमा हुने छैनन् ।

रोनाल्डोको कीर्तिमान

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आफ्नो छैटौँ युरो च्याम्पियन्सिप खेल्नुहुने छ । जसले रोनाल्डो युरोका छ संस्करण खेल्ने पहिलो खेलाडी बन्नुहुने छ । युरो च्याम्पियनसिपमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोलको कीर्तिमान रोनाल्डोकै नाममा रहेको छ । युरो कपमा अहिलेसम्म २५ खेल खेलेर रोनाल्डोले सबभन्दा बढी १४ गोल गर्नुभएको छ । ३९ वर्षीय रोनाल्डोकै नेतृत्वमा पोर्चुगल सन् २०१६ मा युरोपेली च्याम्पियन भएको थियो ।

दस रङ्गशालामा एकाउन्न खेल

जर्मनीका दस रङ्गशालामा ५१ खेल खेलिने छ । ठिक एक महिना चल्ने युरो फुटबलमा युरोपका सर्वश्रेष्ठ २४ टिमको सहभागिता रहेको छ । 

यी टिमलाई छ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई स्थानमा रहने दुई टिम र चार उत्कृष्ट तेस्रो स्थानमा रहेका टिम अन्तिम १६ मा पुग्ने छन् ।  

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads