search

नबिल बैंकले सहमति तोड्दा तीनजना ऋणी सडकमा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ भदौ ।
तत्कालीन नेपाल बङ्गलादेश बैंक मकालु होटल शाखा हालको नबिल बैंक बाइपास शाखाले ऋणीहरूसँग ऋण स्वीकृत गर्ने बेलामा गरेको सम्झौता भङ्ग गर्दा पर्सामा एउटा फार्मको तीनजना ऋणी सडकमा आएका छन्।
ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित कृषि फार्म एनिमल डेभलपमेन्ट नेपालसँग बैंकले त्यसबखत गरेको सम्झौता तोड्दा सो फार्मका तीनजना सञ्चालक पर्सा, धोबिनी गाउँपालिका–२ भिखमपुर बस्ने राजकिशोरप्रसाद पटेल, सच्चिदानन्द प्रसाद कुर्मी र छोटेलाल राउत अत्यधिक घाटामा परेको र आर्थिक अवस्थामा निकै असर परेर सडकमा आइपुगेको बताएका छन्।
२०७८ असोज ७ गते पशु चौपाया पाली दूध उत्पादन गर्ने लक्ष्यका साथ सो बैंकले कुल पाँच करोड ६६ लाख ऋण दिने सम्झौता गरेको थियो। पाँच चरणमा ऋण दिने सम्झौतापत्रमा उल्लेख छ।
पहिलो चरणमा चार बिघा जग्गा खरीद गर्ने, दोस्रो चरणमा भौतिक संरचना बनाउने, तेस्रो चरणमा पशु खरीद गर्ने, चौथो चरणमा सञ्चालनमा ल्याउने र पाँचौं चरणमा दूध उत्पादन गरी बिक्री वितरण गर्ने थियो। पहिलो चरणमा जग्गा खरीदबापत दुई करोड ९० लाख बैंकले ऋण दियो। ऋण पाएर ऋणीहरूले फार्म स्थापनाको लागि सुवर्णपुरमा चार बिघा जग्गा खरीद गरे।
त्यसपछि दोस्रो चरणमा कोभिडबाट आर्थिक अवस्था ग्रसित भएको भन्दै भौतिक संरचना निर्माण गर्न बैंकले दिनुपर्ने ऋण दिन सकेन। सम्झौताबाट पछि हट्यो। दोस्रो चरणको कर्जाको ३० प्रतिशत ऋणी र ७० प्रतिशत बैंकले बेहोर्ने भनिएको थियो। तर नेपाल बङ्गलादेश र नबिल बैंक मर्ज भएपछि नबिल बैंक बन्यो। नयाँ व्यवस्थापन पक्षले दोस्रो चरणको कर्जा दिन आनाकानी ग–यो। त्यसपछि ऋणी र बैंकबीच दूरी बढ्यो। पछि बैंकले ऋणीबाट ८० लाख डिपोजिट गराउन दबाब दियो।
ऋणीहरूले व्यक्तिगत कर्जा लिई ८० लाख बैंकमा जम्मा पनि गरे तर हालसम्म बैंकले दोस्रो कर्जा दिन सकेको छैन। अहिले सो फार्मबाट बैंकले प्रतिमहीना १३ लाख ब्याज लिइरहेको छ। तीनजना ऋणीहरूले सिमरा, वीरगंज र सुवर्णपुरको गरी १२ करोड मूल्य बराबरको धितो राखेका छन्। तापनि उनीहरूको प्रोजेक्टलाई बैंकले विश्वास गरिरहेको छैन। ब्याज मात्र असुल गरेर रगत चुसिरहेको समेत सञ्चालक राजकिशोरप्रसाद पटेल बताउँछन्।
बैंककै ब्याजले गर्दा राति निद्रा पनि नआउने गरेको र ३७ वर्षकै उमेरमा बुढेसकाल लागेको उनले बताए। प्रतिदिन ऋणीहरूमाथि १३ हजार रुपियाँ ब्याज बढिरहेको छ। बैंकसँग उनीहरूले ऋणी सेटलमेन्ट गर्न आग्रह गरेका छन्। बैंकिङ कसूर ऐन २०७६ संशोधनसहितमा एकचोटी बैंकले ऋण प्रवाह गरिसकेपछि बीचमा सम्झौताबाट पछि हट्न नपाइने भनेर स्पष्ट उल्लेख भए पनि बैंकले मनपरी गरिरहेको उनीहरूको तर्क छ।
यस विषयमा नबिल बैंक बाइपास शाखा वीरगंजका प्रबन्धक पवन पौडेलसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads