जथाभावी हार्मोन प्रयोग गर्छन वीरगंजका ट्रान्सजेन्डर

राधेश्याम पटेल
वीरगंज, १९ मंसिर । वीरगंजका ट्रान्सजेन्डर (तेस्रो लिंगी)हरु जथाभावी हार्मोन प्रयोग गर्ने गरेको बुझिएको छ ।

आफू सुन्दर र महिलाजस्तै स्वरुप परिवर्तनका लागि उनीहरुले विभिन्न हार्मोन प्रयोग गर्ने बताएका छन् । सहयात्री समाज नेपाल वीरगंजमा डेढ दशकदेखि आबद्ध ट्रान्सजेन्डर हुन् सन्जु महतो । वीरगंज–८ गहवाकी ३० वर्षीया सन्जुले मासिक रुपमा रु ५००० को मात्रै हार्मोन सेवन गर्ने गरेको बताउँछिन् । अहिले वीरगंजमा खासगरी थाइल्यान्डबाट आयात गरिएको वा भारतको सीमावर्ती बजार रक्सौलबाट भित्र्याइएको डायना चक्की बढीजसो उपयोग गरिरहेका छन् ।

वीरगंज र पर्सा जिल्लाको ग्रामीण भेगमा बस्ने तेस्रो लिंगीहरुले विना चिकित्सकको परामर्शबेगर यी औषधिहरु खाइरहेको स्पष्ट पारिन् । साथै उनले नीलोकन, ओभ्रेलजी, सुनौलो गुलाब र गर्भनिरोधक तीन महीने सुई समेत लिने गरेको अर्की तेस्रो लिंगी ममता बताउँछन् ।

विना चिकित्सकीय परामर्शबेगर यी औषधि सेवन गर्दा विभिन्न किसिमको स्वास्थ्य सम्बन्धी समस्याहरु पनि सामना गर्नुपरेको उनीहरु बताउँछन् । “कसलाई कुन औषधि कति मात्रामा खानुपर्ने हो । चिकित्सकसँग सोधेर परामर्श लिएर सेवन गर्दा राम्रो हुन्छ तर जथाभावी सुन्दर बन्न अधिकांशले सेवन गरिरहेका छन्”, उनले भनिन्, “यसरी धेरैलाई रक्तचाप, थाइराइड, मधुमेहलगायतको जटिल रोगहरुको चपेटामा फस्ने जोखिम पनि बढदै गएको छ ।” कतिपयलाई नियमित रुपमा बिरामी हुने र उपचार गराउनुपर्ने अवस्था पनि आइरहेको सुनिएको उनले बताइन् ।

एउटा डायना चक्कीको २० गोटीको चक्कीलाई रक्सौलमा खरीद गर्दा भारु रु ५०० पर्छ । औषधिको अलावा सुन्दर बन्न विभिन्न ब्युटिपार्लर र शृंगारिक सामान खरीदमा पनि ट्रान्सजेन्डरहरुको मासिक निकै खर्च हुने गरेको उनको भनाइ छ ।

नारायणी अस्पताल वीरगंजलगायत वीरगंजका स्वास्थ्य संस्थाहरुमा वीरगंजका ट्रान्सजेन्डरहरुको लागि हार्मोन सम्बन्धी चिकित्सकहरको निःशुल्क परामर्श मिलाइदिन पनि उनीहरुको माग छ ।

हार्मोनले ट्रान्सजेन्डरहरुमा महिला हार्मोन उत्पादन गर्छ । यसले खासगरी तेस्रो लिंगीहरुको स्तन बढाउन, छाला कोमल र सुन्दर बनाउने, महिलाजस्तै बोली र आवाज बनाउने, एवं हाउभाउ र स्वरुपमा पनि निखार्ने गरेकोले यसको प्रयोग अनाधिकृत रुपमा बढदै गएको बताइएको छ ।

सम्बन्धित पोस्टहरुः