वीरगंज, २६ माघ । दश दिनदेखि हराइरहेका जीतपुरसिमरा उपमहानगरपालिका–७ शान्तिटोलका तीन वर्षीय बालक अंश चौधरीको शव फेला परेको छ । मामाघर शान्तिटोल आएपछि बेपत्ता भएका चौधरीलाई प्रहरी र स्थानीयवासीले खोज्ने क्रममा वीरगंज महानगरपालिका–३२ र बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ टेढारोडको सिमानामा पर्ने कियासोती खोलाबाट बालकको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय, सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइबाको कमान्डमा खटेको प्रहरी टोलीले खोलामा खोज्ने क्रममा खोलामा बालकको शव घोप्टो परेको थियो । बालक शव उनका परिवारजनले सनाखत गरेपछि शल्यपरीक्षणको लागि कलैया अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक वाइबाले बताइन् । शान्तिटोल मामाघर आएका बालक रौतहटको दुर्गाभवानी गाउँपालिका–१ निवासी रितेस चौधरीका छोरा हुन् । बालक माघ १७ गतेदेखि हराएका थिए । केही दिनदेखि प्रहरीले कुकुरसहितको बिशेष टोली बालकको खोजीका लागि खटाएको प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले बताए ।
Facebook Comments Box