वीरगंज,२८ वैशाख ।
वीरगंज महानगरपालिका अन्तर्गत आदर्शनगरदेखि ६ नं. गेटसम्मको सडकखण्डको सौन्दर्यीकरण कार्य शनिबारदेखि शुरु भएको छ । मधेश प्रदेशकी प्रदेशसभा सदस्य वीणादेवी शर्मा (मारवाडी) को संसदीय विकास कोषबाट विनियोजित ५० लाख रुपैयाँको लागतमा सडकमा पेभर ढलान र दुवै छेउमा नाला निर्माण गरिनेछ । शिलान्यास कार्यक्रमको प्रमुख अतिथि सांसद शर्मा रहेकी सो कार्यक्रम उपभोक्ता समितिको सक्रियतामा सम्पन्न भएको हो ।
उपभोक्ता समिति अध्यक्ष अशोक कुमार तिवारी, उपाध्यक्ष प्रेम कुमार चौरसिया, सचिव अर्जुन प्रसाद गुप्ता र कोषाध्यक्ष सशी रौनियारसहित स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा बोल्दै सांसद शर्माले स्थानीय पूर्वाधारको विकासका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए । “यो क्षेत्रका बासिन्दाको लामो समयदेखि उठ्दै आएको मागअनुसार सडकको सुधार र नालाको निर्माणले जनजीवन सहज हुने विश्वास लिएको छु,” उनले भनिन् । उपभोक्ता समिति अध्यक्ष तिवारीले यस परियोजना सबैको सहकार्यमा गुणस्तरीय रूपमा सम्पन्न हुने आशा व्यक्त गरे ।उनले प्राविधिक मापदण्ड अनुसार निर्माण कार्य सम्पन्न गर्न समिति पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिए । स्थानीय बासिन्दाहरूले परियोजनाको सुरुवातप्रति खुसी व्यक्त गर्दै विकास निर्माणमा जनसहभागिता आवश्यक रहेको धारणा राखेका थिए । सडक सौन्दर्यीकरण अन्तर्गत आकर्षक पेभर ढलान गरिनेछ भने दुवै तर्फ नाला निर्माण गरि वर्षायाममा पानी जम्ने समस्याको दीर्घकालीन समाधान गरिने जनाइएको छ । निर्माण कार्य छिट्टै सुरु भई तोकिएको समयमै सम्पन्न गरिने लक्ष्य लिइएको छ ।