राधेश्याम पटेल, वीरगंज,३१ वैशाख ।
वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजमा पुनः समान चोरीको घटना प्रकाशमा आएको छ । यसपाली रु करिब १७ लाख मूल्य बराबरको ७५० एमएलको करिब १६ सय बोतल अष्ट्रेलियन वाइन मदिरा गायब भएको पीडितले जनाएको छ । सर्लाही,कविलाश–२ पिपरियाको पिके ट्रेडर्सका प्रतिनिधि बासुदेव साहले यस्तो आरोप लगाएका हुन् । भन्सार कर्मचारीको मिलोमत्तोमा व्यवसायीको समान चोरी भएको उनको गुनासो छ । गत वैशाख ८ गते १५ दिने सूचा निकाल्दै भन्सार कार्यालयले जफत्त गरिएको करिब १० हजार ५ सय लिटर मदिराको लिलाम सकारको लागि टेण्डर अवह्वान गरेको थियो ।
न्यून्तम करिब ७२ लाखमा मूल्य राखिएकोमा पिके ट्रेडर्सले उक्त मदिरा रु ७५ लाखमा सकार गर्यो,भन्सार शुल्क,अन्तशुल्क र भ्याट गरी कुल रु १ करोड ४२ लाख भन्सारको खातामा राजस्व दाखिला गर्दा मदिरा लोड गर्न जाँदा लिलाम सूचना बमोजिम मदिरा नभेटिएपछि विवाद भएको हो । एक कार्टुनमा ७५० एमएलको ६ वटा बोतल हुन्छ ।करिब २८६ कार्टुन मदिरा अर्थात १७१६ बोतल कम मदिरा रहेको बुझिएको छ ।
तत्कालिन भन्सार कार्यालय प्रमुख रामप्रसाद मैनालीकै पालामा उक्त मदिरा अर्को एक अयातकर्ताको समानबाट जफत गरी लिलामी प्रकृया अघि बढाइएको थियो । अपुग मदिराको विषयमा भन्सार अधिकारीहरुसंग बुझ्न खोज्दा कोही बोल्न मानेका छैनन् । यो घटनामा भन्सार कार्यालयका मुद्दा शाखाका भन्सार अधिकृत शिवकुमार कुशवाहासंग पिके ट्रेडर्सका प्रतिनिधि साहले कुरा राख्दा मैले केही सुन्दिन जति समानछ,लैजानुस वा छोडदिनुस भनेर गैरजिम्मेवार जवाफ फर्काएको दावी गरे । मैले सकार गरेको परिमाणमा मदिारा पाउनु पर्यो वा जति समान बुझिरहेको छु,त्यतिकैको भर्पाई गरी बाँकी पैसा मेरो फिर्ता गर्नूपर्छ ,’उनले भने ।
यस विषयमा भन्सार अधिकृत कुशवाहासंग फोन सम्पर्क गर्दा फोन उठाएनन् । ड्राईपोर्ट भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालसंग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । समास्याको समाधान भएन भने पिके ट्रेडर्स माथिल्लो निकाय वा अदालतको बाटो रोज्ने चेतावनी दिएको छ । यसअघि पनि फित्तलो सुरक्षा व्यवस्थाको कारण ड्राईपोर्ट भन्सार यार्डको कन्टेनरबाट लाखौंको अलैची,मदिरा,कन्टेनर नै चोरी भएको घटना विगतमा पटकपटक आउने गरेको छ । तर पनि सम्बन्ध्ति निकाय यस बारे आफनो कमिकमजोरी ढाकछोप गरी कम्बल ओढेर घिउ पिउने गरेको व्यवसायीहरुको आरोप छ ।