प्रमोद यादव पचगावाँ, ३ जेठ ।
पर्सा,जिल्लाको पटेर्वा सुगौली गाउँपालिकास्थित तीन वटा विद्यालयहरूमा शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेको छ । विद्यार्थी र अभिभावकहरू दैनिकरूपमा गुणस्तरहीन शिक्षाको गुनासो गरिरहेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रंगपुर टाडी, सुगौलीदाप र निचुटामा हाल दरबन्दीअनुसार माध्यमिक तह (मावि) र प्लस टु (११ र १२ कक्षा) का लागि पर्याप्त शिक्षकहरू छैनन् । विद्यालयहरूले प्रावि र निमावि तहका शिक्षकहरूलाई समन्वय गरी उच्च कक्षाहरू सञ्चालन गरिरहेका छन्, तर विषयगत शिक्षक नहुँदा गुणस्तरीय शिक्षामा कमी आएको देखिएको छ ।
शिक्षक अभावका मुख्य समस्याः
रंगपुर टाडीमा कक्षा ६, ७, ८ मा गणित तथा विज्ञान विषय हालसम्म पढाइ भएको छैन भने सुगौलीदापमा कक्षा ८, ९, १० मा सामाजिक र नेपाली तथा विज्ञान विषय बिना नै कक्षा सञ्चालन भइरहेका छन् । त्यसैगरी, निचुटामा अङ्ग्रेजी विषयको शिक्षक नहुँदा प्रारम्भिक तहकी शिक्षिका क्रान्ति बैजालीले समन्वयका आधारमा केही दिनदेखि पढाउन थालेकी छन् । तीनै विद्यालयका प्रधानाध्यापकहरूले पालिका र शिक्षा शाखालाई पटक–पटक जानकारी गराएको भए पनि हालसम्म कुनै सुनुवाइ भएको छैन् । शिक्षा शाखाका प्रमुख सोलेन्द्र पजियार, सूचना प्रविधि शाखाका ममता महतो, र गाउँपालिका अध्यक्ष दिनेश चौधरीले यस विषयमा कदम चाल्न ढिलाइ गरेकाले विद्यार्थीको भविष्यमा गम्भीर असर पर्ने स्थानीयवासीको भनाइ छ । स्थानीय समाजसेवी नौसाद अन्सारीका अनुसार, “सडक र भवन बनाउनु मात्र विकास होइन, शिक्षा नै देशको मेरुदण्ड हो, यसमा ध्यान नदिँदा पूरै पुस्ता मारमा पर्न सक्छ।” त्यस्तै अर्का स्थानीय अन्सु चौधरी भन्छन्, “विद्यालयमैत्री र प्रविधिमैत्री वातावरणको अभावमा शिक्षा नारामा मात्र सीमित हुँदैछ।” अध्यक्ष दिनेश चौधरीले निर्वाचित भएदेखि नै “गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भनेर भाषण दिए पनि व्यवहारमा त्यो प्रतिबद्धता पूरा हुन सकेको देखिँदैन। यसरी सरकारी विद्यालयहरूमा शिक्षकको स्थायी व्यवस्था नभएसम्म विद्यार्थीहरू शिक्षाबाट वञ्चित हुने खतरा बढ्दो छ। यस विष्यामा गापा अध्यक्ष दिनेश चौधरीसंग बुझदा उनले देशभरी नै विषयगत शिक्षकको समस्या रहेको तै पनि हाल १२ जना शिक्ष्ँक अधारभूत तहमा बहाली भएर आएको र अपुग भएको ठाउँमा शिक्षक दरबन्दी मिलान गरी खटाउने प्रतिबद्धता जनाए ।