बिरगंज, ६ जेष्ठ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो ३१औं वार्षिकोत्सवको अवसरमा ‘सबल बैंक, सफल सहकार्य’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त रक्तदान शिविर आज बिरगंजको श्रीपुर मुर्लीचोकस्थित शाखा परिसरमा सम्पन्न भएको हो।
रक्तदान कार्यक्रम महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालको आतिथ्यमा तथा नेपाल रेडक्रस सोसाइटी, बिरगंज शाखाका सभापति बृजकिशोर पटेलको विशेष उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रक्त सञ्चार सेवा, बिरगंजका जितेन्द्र कुशवाहा तथा उनको टोलीले प्राविधिक सहयोग प्रदान गरेका थिए।शिविरमा ३ जना महिला सहित जम्मा २४ जना व्यक्तिहरुले स्वेच्छिक रक्तदान गरेका थिए।रक्तदान गर्ने व्यक्तिहरुमा सञ्जु श्रेष्ठ, चन्द्रशेखर पण्डित, शेरनन्दन प्रसाद, उमेश साह, विवेक ठाकुर, विजय प्रसाद हजम, सदाम अन्सारी, दिपक पण्डित, अखलेश, सुवास श्रेष्ठ लगायतका रक्तदाताहरु सहभागी थिए।रक्तदान कार्यक्रमबारे जानकारी नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले दिएका हुन्। उनले यस्तो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिने मात्र नभई, आकस्मिक अवस्थामा जीवन बचाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।महालक्ष्मी विकास बैंकका पदाधिकारी तथा कर्मचारीको सक्रिय सहभागिता रहेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।बालबालिका, महिला, युवा तथा वृद्धवृद्धासहित सयौं सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम जनमानसमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।















