ज्येष्ठ २७, धनुषा । दाइजो प्रथाले गहिरो प्रभाव जमाएको मधेस प्रदेशमै एउटा सकारात्मक उदाहरण स्थापित भएको छ । मधेस प्रदेशकै सांस्कृतिक केन्द्र जनकपुरधाम नजिकैको सतलोक आश्रम धनुषामा आयोजना गरिएको ६२८औँ कबीर प्रकट दिवसकाे अवसरमा १५ नव जोडीले एउटै समय र मञ्चमा दाइजोमुक्त आदर्श विवाह सम्पन्न गरेका छन् ।
मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा सोमवारदेखि सुरु भएको तीन दिवसीय महोत्सव अन्तर्गत पन्ध्र नव जोडी (जसमध्ये ९ जोडी नेपालका र ६ जोडी छिमेकी भारत बिहारका) ले सामूहिक रूपमा दाइजोमुक्त र अन्तरजातीय विवाह गरेका हुन् । आश्रमकाअनुसार वैवाहिक कार्यक्रम जम्मा १७ मिनेटमै असुर निकन्द रमैणी (गुरुवाणी) को मन्त्र उच्चारणसहित सम्पन्न गरिएको हो ।
रमैणी धार्मिक, सामाजिक र आध्यात्मिक दृष्टिले आदर्श मानिएको विवाह पद्धति हो, जसमा दाइजोको कुनै स्थान हुँदैन । दाइजो प्रथाले गहिरो सामाजिक जरा गाडेको मधेस प्रदेशमै यस्तो दाइजोमुक्त वैवाहिक कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ । जहाँ भारतबाट समेत मानिसहरू आएर सहभागिता जनाइरहेका छन् । सतलोक आश्रममा भारतका विभिन्न राज्यहरूबाट समेत जोडी तथा अभिभावकहरू आउने क्रम बढ्दो छ ।
आश्रमका एक प्रतिनिधिले भने, “हामी जातीय वा अन्तरजातीय विवाह गर्न चाहने जोडीहरूलाई सम्पूर्ण अभिभावकहरूको अनुमति र उपस्थितिमा मात्र विवाह गराउने गर्छौं । विवाहको सरल विधि, धार्मिक र समाज सुधारमुखी हुन्छ । यस्ताे वैवाहिक अभियानले नेपालमा दाइजो प्रथा विरुद्धको चेतना फैलाइरहेको छ ।”
कबीर प्रकट दिवसको यस अवसरमा आश्रममा विभिन्न धार्मिक, सामाजिक र सेवामूलक कार्यक्रमहरू सञ्चालन भएका छन् । तीन दिनसम्म चल्ने महोत्सवमा सन्त गरीबदास जी महाराजको अमरवाणीको अखण्ड पाठ, विशाल भण्डारा (नि:शुल्क भोजन), रक्तदान शिविर तथा विशाल सत्सङ्ग भएको आश्रमले जनाएको छ । रक्तदान शिविरमा ६८ युनिटभन्दा बढी रक्तदान भएको आश्रमले जनाएको छ ।
दाइजो प्रथा मधेस प्रदेशमा मात्र नभई देशैभरि सामाजिक समस्याको रूपमा रहँदै आएको छ । दाइजोको अभावमा विवाह गर्न नपाएका, विवाहपछि मानसिक र शारीरिक हिंसा व्यहोर्न बाध्य महिलाहरूको सङ्ख्यामा कमी आएको छैन् । यस्तो अवस्थामा सतलोक आश्रमले सञ्चालन गरिरहेको दाइजोमुक्त वैवाहिक अभियानले नयाँ पुस्तालाई वैकल्पिक सोच र व्यवहारमा उन्मुख गराइरहेको छ ।
कार्यक्रममा सहभागी भएका जोडी तथा तिनका अभिभावकहरूले पनि यस्तो आदर्श विवाह गर्न पाउँदा आफूलाई भाग्यमानी भएको बताएका छन् । दर्शकहरूको उपस्थिति, अनुशासित वातावरण, धार्मिक आस्थाको गहिरो भावनाबीच सम्पन्न यस वैवाहिक कार्यक्रमले सामाजिक परिवर्तनको सम्भावनामा उज्यालो थपेको छ । उक्त वैवाहिक कार्यक्रम तथा ६२८ओैँ कवीर प्रकट दिवसकाे दाेस्राे दिन पर्सा जिल्ला, बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्मा कुमारी कुशवाहकाे पनि उपस्थित रहेको थियोे ।
सतलोक आश्रमले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ । यस्ता प्रकारका अभियानले मधेस मात्र होइन, सम्पूर्ण देशलाई नै दाइजोमुक्त समाजतर्फ अघि बढाउन प्रेरणा दिने अपेक्षा गरिएको छ ।