खानेपानी मन्त्रीको सक्रियतामा पर्साको सय स्थानमा डिप बोरिङ

वीरगंज, १५ असार /
गर्मी र पानीको हाहाकार भइरहेको पर्साको विभिन्न ठाउमा करिब सय स्थानमा डिप बोरिङ गरिएको छ । पर्सा १ का संघीय सांसद एवं  खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा पर्साका विभिन्न क्षेत्रमा डीप बोरिङमार्फत पानी आपूर्ति शुरु भएको छ । वीरगंज महानगरको छपकैया, नगवा, गहवा, घरिअर्वा, लक्षुमना, मनियारीलगायतका स्थानमा तीव्र रूपमा पाइपलाइनमार्फत पानी आपूर्ति भइरहेपछि स्थानीयवासी हर्षित भएका छन् । खानेपानी मन्त्री यादवका अनुसार हालसम्म सयभन्दा बढी स्थानमा डीप बोरिङ जडान गर्ने योजना कार्यान्वयन भइरहेको छ । दीर्घकालीन समाधानका लागि पनि योजना अघि बढाइएको उनले बताए ।

मन्त्री यादवले पर्सावासीको घर–घरमा सुरक्षित खानेपानी पुग्ने सुनिश्चितता दिन आफू निरन्तर खटिएको भन्दै आउँदो वर्षदेखि गर्मीयाममा पनि पानीको समस्या नहुने विश्वास दिलाए। वीरगंज खानेपानी संस्थानका प्रमुख विपुल दासले असार मसान्तसम्म १०० स्थानमा डीप बोरिङ जडान गरिने र प्रत्येक बोरिङबाट ५० देखि ८० घरधुरीलाई पानी आपूर्ति गरिने योजना रहेको जानकारी दिए।उनका अनुसार, बोरिङसँगै २,००० लिटर क्षमताको ट्याङ्की निर्माण र पाइपलाइन जडान कार्य पनि तीव्र गतिमा अगाडि बढाइएको छ।स्थानीयवासीले मन्त्री यादवको प्रयासलाई अत्यन्तै सराहना गरेका छन्। छपकैया निवासी सकिना खातुनले “जनजीवन कष्टकर बनिरहेको बेला पानी आपूर्तिले ठूलो राहत दिएको” भन्दै धन्यवाद व्यक्त गरिन्। श्रीपुरका चन्द्रिका प्रसाद र वीरगंज–१६ का अमिन मियाले पनि चापाकल सुक्दा पानीको अभाव भएको र अहिले समाधान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्।खानेपानी संस्थानका अनुसार, कुनै पनि स्थानमा समस्या देखिए तुरुन्त जानकारी दिन आग्रह गरिएको छ ताकि सेवा अझ प्रभावकारी बनाइयोस्।

सम्बन्धित पोस्टहरुः