वीरगंज, २६ असार । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले ठाकुर राम बहुमुखी क्याम्पस, पर्सामा क्याम्पस प्रमुख रञ्जित प्रसाद यादव हराएको भन्दै विरोध प्रकट गरेको छ । स्ववियु सभापति राजकुमार यादवको नेतृत्वमा विद्यार्थीहरूले व्यङ्गयात्मक शैलीमा सूचना प्रकाशित गरी क्याम्पस प्रमुखको अनुपस्थितिप्रति विरोध जनाएको छ । सूचनामा “क्याम्पस चिफ रञ्जित प्रसाद यादव हराउनु भएको छ। खोजीकर्तालाई ५१ रुपियाँ इनाम दिइनेछ । सम्पर्क नं. ९८४५०३६७६० ।” लेखिएको छ । स्ववियु सदस्य अमित पटेलले क्याम्पसमा खानेपानीको चरम अभाव छ । क्याम्पसभित्रका सबै धारा सुकेका कारण विद्यार्थी, होस्टलमा बस्ने विद्यार्थी र कर्मचारीहरूले सास्ती खेपिरहेका छन् । यसबारे बारम्बार ध्यानाकर्षण गराउँदा पनि क्याम्पस प्रमुख र सम्बन्धित निकायले कुनै चासो नदिएको गुनासो गरे । यसैबीच असार ३० गतेदेखि शुरू हुने बिबिएस प्रथम वर्षको परीक्षाका लागि धेरै विद्यार्थीको रजिस्ट्रेशन नम्बर अझै प्राप्त नभएको, प्राप्त भएका कतिपय नम्बरमा समेत गम्भीर त्रुटि देखिएबाट यस्तो व्यवस्थापकीय कमजोरीले विद्यार्थीहरू मानसिक तनावमा रहेको उनले बताए । क्याम्पस प्रमुख र परीक्षा प्रमुख दुवैले आफ्नो जिम्मेवारीबाट पन्छिएको विद्यार्थीहरूले आरोप लगाएका छन् ।
Facebook Comments Box