वीरगंज, २६ असार ।
नेपाली कांग्रेसका मधेश प्रदेश सभा सदस्य श्याम पटेलले वीरगंजमा देखिएको खानेपानीको चरम समस्यावारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन।
उनले खानेपानीको अभावले गर्दा आम नागरिकले भोग्नुपरेको सास्तीवारे सरकारलाई तत्काल ध्यान दिन आग्रह गरेका हुन।
मातृभाषा भोजपुरीमा बोल्दै महानगरपालिकाका विभिन्न वडामा खानेपानीको समस्या विकराल बन्दै गएको र यसले जनजीवनलाई प्रत्यक्ष असर पारेको उनले बताए। उनले लामो समयदेखि यो समस्या समाधान हुन नसकेको भन्दै प्रदेश सरकारले यसमा गम्भीरतापूर्वक चासो देखाउनुपर्नेमा जोड दिए।
‘वीरगंज जस्तो ठूलो शहरमा खानेपानीको अभाव हुनु लाजमर्दाे कुरा हो। जनताले स्वच्छ खानेपानी पाउनु उनीहरूको मौलिक अधिकार हो,’ सांसद पटेलले भने। उनले खानेपानीको समस्या समाधानका लागि दीर्घकालीन योजनाका साथ काम गर्न र तत्कालका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे।
सांसद पटेलले यस विषयमा सरकारको जवाफ माग गर्दै समस्या समाधानका लागि ठोस कदम चाल्न दबाब दिएका छन। वीरगंजमा खानेपानीको समस्या विगत लामो समयदेखि रहँदै आएको छ।