वीरगंज, ५ साउन । साउथ जोन माविमा विद्यार्थी पदाधिकारी शपथ तथा वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
विद्यालयले शैक्षिक सत्र २०८२ का लागि नव–निर्वाचित विद्यार्थी कल्याणकारिणी परिषद्का पदाधिकारीहरूलाई शपथ ग्रहण गराएको हो ।
कार्यक्रममा नवनिर्वाचित क्याप्टेन्स र हाउस लिडर्स (गार्नेट, सिट्रिन, साफायर, र एमराल्ड हाउस)ले विद्यालय र विद्यार्थी हितमा जिम्मेवारीपूर्वक काम गर्ने शपथ लिएका थिए । वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा विद्यार्थीहरूलाई शपथ गराइएको थियो ।
सोही अवसरमा शैक्षिक, खेलकुद, अनुशासन, नियमित उपस्थिति, सांस्कृतिक योगदान तथा नेतृत्वका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरियो । गत सत्रमा विशेष उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई ‘मायाको चिनो’ समेत प्रदान गरिएको थियो । विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले विद्यालय शिक्षाको मात्र नभई व्यक्तित्व विकास र नैतिक मूल्यहरूको प्रशिक्षणस्थल पनि भएको बताए । उनले आज शपथ लिने विद्यार्थीहरू नै भोलिका उत्तरदायी नागरिक भएकोमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् मधेश प्रदेशका सचिव शिवजी गुप्ता, नेपाल इनोभेट सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश कुमार उपाध्याय लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । विद्यालयका प्रशासन प्रमुख अशोक सङग्रौलाले सञ्चालन गरेको यस कार्यक्रममा विद्यार्थीहरूले मार्च पास र विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि दिएका थिए ।