वीरगंज, ५ साउन । जनता समाजवादी पार्टी (जसपा)लाई ठूलो झट्का लागेको छ ।
कलैयामा आज पार्टी प्रदेश कार्यक्रममा संविधानसभा सदस्य प्रमोद प्रसाद गुप्ता र पूर्व प्रदेशसभा सदस्य पारस प्रसाद साह सहित करिब ५०० जना नेता तथा कार्यकर्ताले जसपा पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्वागत गरेका थिए ।
गुप्ता र साह दुवै यसअघि जसपा नेपालबाट अलग्गिएर बनेको अशोक राईको नेतृत्वको जनता समाजवादी पार्टीमा सक्रिय थिए । प्रमोद प्रसाद गुप्ता संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवका राजनीतिक सल्लाहकारको भूमिकामा समेत थिए।
बारा जिल्लामा बलियो जनाधार बनाएका यी दुर्ई प्रभावशाली नेताहरूको जनमत पार्टी प्रवेशले बारामा पार्टीको आधार अझ बलियो बन्ने विश्वास गरिएको छ। यसले आगामी निर्वाचनमा जनमत पार्टीलाई थप लाभ पुग्ने आँकलन गरिएको छ।
पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, उद्योगमन्त्री इ. बसन्त कुशवाहा, वनमन्त्री संजय यादव लगायत बारा र पर्सा जिल्लाका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागीता रहेको थियो।