वीरगंज १४ साउन । प्रयास जुभेनाइल एड सेन्टर, पूर्वी चम्पारणले विश्व मानव बेचबिखन विरोध दिवसको अवसरमा रक्सौल रेल्वे स्टेशनमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मानव बेचबिखन विरोधी इकाईका निरीक्षक विकास कुमारले बेचबिखनका शिकार बालबालिका तथा महिलाहरूको पहिचान, तस्करहरूको रणनीति, र कानुनी तथा संस्थागत प्रतिकार्यहरूवारे विस्तृत जानकारी दिए । उनले रेल्वे स्टेशनजस्ता भिडभाडयुक्त स्थानहरू मानव बेचबिखनका लागि अत्यन्त संवेदनशील हुने हुँदा सम्पूर्ण निकायहरूलाई सधैं सतर्क रहन आग्रह गरे। कार्यक्रममा सहभागीहरूलाई मानव बेचबिखन रोकथामसम्बन्धी उपयोगी जानकारी, पोष्टर र पम्प्लेट वितरण गरिएको थियो । रेलवे सुरक्षा बल, रक्सौलका सब–इन्स्पेक्टर सन्तोष कुमार मिश्रले रेल मन्त्रालयद्वारा घोषित मानव बेचबिखन विरोधी महाअभियान अन्तर्गत आयोजना गरिएको बताए । स्टेशन प्रमुख अनिल कुमारले मानव बेचबिखन रोकथामका लागि हामीले सबै सम्भव प्रयास गर्नुपर्नेमा जोड दिए । उनले राजकीय रेल प्रहरी का प्रतिनिधिहरूले मानव व्यापारलाई एक संगठित अपराधका रूपमा व्याख्या गर्दै यसलाई रोक्न सतत प्रयास गरिने बताए । स्वच्छ संस्थाका अध्यक्ष रञ्जीत सिंहले मानव व्यापार एउटा गम्भीर अपराध भएको र यसलाई अन्त्य गर्न सबैले एकजुट भएर कार्य गर्नुपर्नेमा जोड दिए। बाल्यकाल बेच्नेहरूलाई सजाय देऊ निर्दाेषहरूलाई नयाँ भविष्य देऊ नाराका साथ आयोजित कार्यक्रमको अध्यक्षता परियोजना समन्वयक आरती कुमारीले गरेकी थिइन् । कार्यक्रममा रेलवे सुरक्षा बल, राजकीय रेल प्रहरी, सशस्त्र सीमा बल, मानव बेचबिखन विरोधी इकाईलगायतको सहभागीता रहेको थियो।
Facebook Comments Box