परवानीपुर, १३ साउन ।
बारा,परवानीपुर गाउँपालिका वडा नं ३ लिपनीस्थत भोजभगत माध्यमिक विद्यालय परिसरमा आज विराट कुस्ती सम्पन्न भएको छ । श्रीनागपञ्चमी महाबिरी झण्डा मेला समिति परवानीपुरको आयोजनामा हरेकवर्ष नागपञ्चमीको भोली पल्ट अर्थात आज बुधवार सो कुस्ती सम्पन्न भएको हो । कुस्तीको उद्घाटन परवानीपुर गापाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले गरे । नाचपञ्चमीको दिन परवानीपुर बजारमा हिजो महाबिरी झण्डा मेला लागेका थियो भ ने आज विगतकै परम्परा अनुसार कुस्ती सम्पन्न भएको हो ।
दिउँसो २ बजेदेखि साझ ६ बजे सम्म आयोजना भएको कुस्तीमा नेपाल–भारतका महिला र पुरुषहरुको गरी झण्डै २५ जोड कुस्ती भएको मेला समितिका अध्यक्ष रामएकबाल यादवले जानकारी गराए । कुस्तीमा पर्सा,बारा,नवलपरासी,भारत,बिहार,पञ्जाब,हरियाणा,दिल्ली,गुजरातलगायतका नामुद पहलमानहरुले कुस्ती प्रदर्शन गरेका थिए । कुस्तीको उद्घाटन समारोहमा परावनीपुर गापाका कार्यपालिका सदस्य जगदीश राम,मेला समितिका उपाध्यक्ष वृजकिशोर यादव,सचिव अरुणप्रसाद यादव,कोषाध्यक्ष रामदेशप्रसाद यादव,सल्लाहकार किसानप्रसाद यादवलगायत परवानीपुर आसपास पर्सा–बाराका हजारौं दर्शकहरुको सहभागिता थियो ।
पहिले कुस्ती परवानीपुर बजारमै हुदै आएकोमा विगत ३ वर्षदेखि अमृत घ्यू प्रालि,परवानीपुरभन्दा पुर्व रहेका भोजभगत प्राङगणमा यो कुस्ती हुदै आएको छ । नागपञ्चमीको अवसरमा परवानीपुरका महाबिरी झण्डा मेलामा परवानीपुर आसपासबाट महाबिरी झण्डा लिएर आएर दुर्गा मन्दिर परवानीपुर परिसरमा रहेको हनुमान मन्दिरमा गाडेर पूजापाठ गरी नागपञ्चमी मनाउने चलन छ । पहिले गाउँगाउँमा नागपञ्चमीभन्दा एक महिनादेखि गाउँगाउँमा ठाकरा नाचको अभ्यास हुन्थ्यो,मेलामा नाचसहित महाबिरी झण्डा लिएर आउने चलन थियो । तर करिब एक दशकदेखि उक्त परम्परा लोप भएको परवानीपुरबासीले बताएका छन् ।