वीरगंज, १७ साउन । उद्योगले छाडेको प्रदूषित पानीको कुलोमा डुबेर बालकको मृत्यु भएपछि शनिवार बालकका परिवारजनले जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित गणपति र नन्दन उद्योगको गेट अगाडि बालकको शव तेर्साएर प्रदर्शन गरेका छन् । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ५ स्थित कुलोमा उद्योगबाट निस्किएको प्रदूषित पानीमा डुबेर १३ वर्षीय सन्दीप मुखियाको मृत्यु भएको थियो । मृतकका आमा अञ्जु मुखियासहित स्थानीयबासीले शनिवार उद्योग अगाडि प्रदर्शन गर्दै न्यायको माग गरेका छन् । सिरसिया कुलो (बर्खि बाँध) मा डुबेर शुक्रवार बालकको मृत्यु भएको थियो । उक्त कुलोमा गणपति घ्यू, नन्दन घ्यू, अशोक स्टीललगायतका उद्योगबाट प्रशोधन नगरी निस्कने रसायनयुक्त प्रदूषित पानी बग्ने गरेको स्थानीयवासीले आरोप लगाएका छन् । शवको शल्य परीक्षणका क्रममा बालकको मृत्यु विषाक्त पानीकै कारण भएको पुष्टि भएको नारायणी अस्पताल स्रोतले जनाएको छ। घटनापछि आक्रोशित स्थानीयले उद्योगको लापरवाहीले बालकको ज्यान गएको भन्दै क्षतिपूर्ति र दोषी उद्योगमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले उद्योग अगाडि पीडित परिवार र स्थानीय प्रदर्शनमा बसेको र पीडित पक्ष, जनप्रतिनिधि र उद्योग प्रशासनबीच छलफल भएको जनाएका छन् । उद्योगका कारण बस्तीका नागरिक प्रभावित भएको र वातावरणमा समेत गम्भीर असर परिरहेको स्थानीयवासीले जनाएका छन् ।
Facebook Comments Box