वीरगंज, २२ साउन ।
वीरगंजबाट प्रकाशीत हुँदै आएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा तीन जना पत्रकारलाई सम्मानित गर्ने भएको छ ।
मध्य नेपाल मिडिया सञ्चालक समितिको बुधवार बसेको बैठकले मधेसमा क्रियाशील भएर पत्रकारिता गरिरहेका तीन जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
बैठकले उत्कृष्ट महिला पत्रकारिता पुरस्कार जनकपुरकी पत्रकार मानिका झालाई दिने निर्णय गरेको मध्य नेपालकी सम्पादक कबिता खड्काले बताइन।अन्नपूर्ण पोस्ट दैनिक पत्रिकाकी मधेस ब्यूरो प्रमुख झालाई १५ हजार राशीको पुरस्कारले सम्मानित गरिने खड्काले बताइन।
यसैगरी मध्य नेपाल पत्रिकामा ‘खोजी जवाफदेहिताको’का स्तम्भकार शिवनाथ प्रसाद यादव र गीता भण्डारीलाई पनि पुरस्कार दिने निर्णय गरिएको छ । दुबै जनालाई जनही ११ हजार १ सय धनराशिको पुरस्कारले सम्मान गर्ने निर्णय गरिएको खड्काले जानकारी गराइन् ।
यादवले समाजमा देखिएका बेथितिका विरूद्ध र भण्डारीले सामाजिक मुद्दामा विगत १० वर्षदेखि अनवरत मध्य नेपालमा कलम चलाउँदै आएका छिन् ।तीनै जनालाई यही भदौं १२ गते आयोजना हुने वार्षिकोत्सव समारोहमा सम्मानित गरिने सम्पादक खड्काले जानकारी दिइन् ।