राष्ट्रिय एकता अभियानद्वारा छानबिनको माग

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ आदर्शनगरमा सञ्चालन भइरहेको “रेनरेनले सुपरमार्केट” मा चिनियाँ नागरिकहरूले पर्यटक भिसाको दुरुपयोग गर्दै अवैध रूपमा प्रत्यक्ष व्यापार सञ्चालन गरिरहेको आरोप लागेको छ।
यस विषयमा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले प्रमुख जिल्ला अधिकारी (सिडिओ) पर्सालाई ज्ञापनपत्र बुझाउँदै तत्काल छानबिन गरी आवश्यक कारबाहीको माग गरेका छन्।
ज्ञापनपत्र अनुसार, स्थानीय व्यापारी देवकी अग्रवालको घरमा सञ्चालन भइरहेको उक्त सुपरमार्केटमा चिनियाँ नागरिक जियांग लि र एन मिङले बिक्री काउन्टरमै बसेर प्रत्यक्ष रूपमा व्यापार गरिरहेका छन्। कागजमा पसलको स्वामित्व नेपाली नागरिक तिलक बहादुर खड्काको नाममा भए पनि, सम्पूर्ण लगानी र सञ्चालन चिनियाँ नागरिकहरूको रहेको अभियानले जनाएको छ।
अभियानले यो गतिविधिलाई चार तहमा गम्भीर समस्या भएको उल्लेख गर्दै स्थानीय व्यापार, राष्ट्रिय सुरक्षा, कानुनी व्याख्या र नीतिगत कमजोरीप्रति चिन्ता व्यक्त गरेको छ।
चारवटा मुख्य समस्या यस्ता छन्: स्थानीय व्यापारमा असर – नेपाली व्यापारीहरू घाटामा गुजारा चलाइरहेका बेला चिनियाँ नागरिकहरूले महँगो भाडामा सुपरमार्केट सञ्चालन गरी प्रतिस्पर्धा असमान बनाएको छ।
राष्ट्रिय सुरक्षामा चुनौती – भारतसँग खुला सीमा रहेको वीरगञ्जजस्तो रणनीतिक क्षेत्रमा विदेशी नागरिकहरूको यस्ता गतिविधि हुनु खतरनाक हुनसक्ने आशंका अभियानले गरेको छ।
भिसा दुरुपयोग र स्वामित्व लुकाउने प्रवृत्ति – पर्यटक भिसामा नेपाल आएर नेपाली नागरिकको नाममा व्यवसाय दर्ता गरी वास्तविक रूपमा आफूले सञ्चालन गर्नु कानुनी छल हो भन्ने अभियानको भनाइ छ।
कानुनी प्रक्रियाको उपहास – विदेशी नागरिकले स्वामित्व लुकाएर व्यापार सञ्चालन गर्नु नेपालको कानुनी प्रणालीमाथि सीधा हस्तक्षेप भएको अभियानको आरोप छ।
चारबुँदे माग राखिँदै ज्ञापनपत्र बुझाइयो
राष्ट्रिय एकता अभियानले निम्न चारबुँदे माग राखेको छ:
चिनियाँ नागरिकहरूको भिसा र कागजातको यथाशीघ्र छानबिन गरी अवैध प्रमाणित भएमा आवश्यक कारबाही गर्न,
व्यवसायको वास्तविक लाभग्राही (beneficial owner) को पहिचान गरी कम्पनी दर्ता खारेज गर्न वा व्यापारमा रोक लगाउन,
सीमा क्षेत्रमा विदेशी नागरिकहरूको गतिविधिमा निगरानी सशक्त बनाउने व्यवस्था गर्न,
नेपाली व्यापारीहरूको संरक्षणका लागि विदेशी व्यापार नियमनलाई थप कडा बनाउने नीति ल्याउन।
अभियानको आग्रहमा प्रशासन गम्भीर होस
अध्यक्ष विनय यादवले राष्ट्रको स्वाभिमान, स्थानीय व्यवसायको अस्तित्व र भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले यथाशीघ्र ठोस कदम चाल्नुपर्ने औँल्याएका छन्।
स्थानीय व्यापारको संरक्षण र वैदेशिक हस्तक्षेप नियन्त्रणमा ल्याउन प्रशासनले आवश्यक तहमा अनुसन्धान थाल्ने अपेक्षा गरिएको छ।
सम्बन्धित पोस्टहरुः