परवानीपुर,२४ साउन ।
नेपाल–चीन सिमानास्थित रसुवागढीमा गत असार २४ गते बाढीमा बेपत्ता भएका बारा घर भई हाल नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान मुन्ना ठाकुरको कुशको शव बनाएर शुक्रवार अन्त्यष्टि गरिएको छ । उनको अवस्था लाामे समयदेखि अज्ञात बनेपछि उनको बाढिमा परेर मृत्यु भइसकेको विश्वास गर्दै परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् । घटना भएको एक महिना बिति सक्दा पनि उनको शव हाल सम्म फेला पर्न सकेको छैन । घटनाको ३२औं दिनमा कुशको शव बनाएर अन्तिम संस्कार गरिएको परिवारजनले जनाएका छन् । फेटा गाउँपालिका १ भलुही घर भएका २४ वर्षीय प्रहरी जवान ठाकुर रसुवाको नेपाल–चीन सीमा नाकामा रहेको ल्हेन्दे खोलामा आएको बाढीमा बेपत्ता भएका थिए । बाढीले नेपालमा सीमा क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।
उक्त बाढीमा बेपत्ता भएका ठाकुर जिल्ला प्रहरी कार्यालय पर्सामा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए । उनि बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका थिए । त्यही बेला बेपत्ता भएका ठाकुरको अवस्था त्यसयता अज्ञात छ । बाढीमा परी ठाकुरसहित इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ र प्रहरी जवान लोकेन्द्र बोहोरा गरी २० जना बेपत्ता भएका थिए । बेपत्तामध्ये प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव असार २५ गते चितवनको त्रिशूली नदी किनारमा फेला परेको थियो । उक्त बाढीमा १९ जनाको अवस्था अझै अज्ञात छ ।
बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिक, ११ जना स्थानीय र दुई प्रहरी जवान छन् । कुशको दाह संस्कारकोको दिन हिजो ठाकुरकी पत्नी गुञ्जा देवीसहित परिवारका सदस्य र आफन्त मुर्छित बनेका थिए । प्रहरी जवान ठाकुरका एक छोरा छन्।