वीरगंज, ३० साउन । मधेस स्पोट्र्सद्वारा आयोजित एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को ट्रफी बिहीवार वीरगंजमा अनावरण गरिएको छ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेस युनाइटेडकी ब्रान्ड एम्बेसडर कलाकार नीति शाहले संयुक्त रूपमा ट्रफी अनावरण गरेका हुन् ।
सोही अवसरमा मेयर सिंहले मधेस युनाइटेडले प्रतियोगितामा प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गर्दै टोलीकी मार्की प्लेयर निरूता ठगुन्नालाई हस्तान्तरण गरे । उनले भलिबलको विकास र महिला सशक्तीकरणमा लिगले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै वीरगंज महानगर भलिबल प्रवद्र्धनमा प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा मधेस विश्व विद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, विभिन्न सुरक्षा निकायका प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोधकुमार गुप्ता लगायतको उपस्थिति थियो ।
मधेस युनाइटेडका सञ्चालक विशाल अग्रवालले संस्थाको उद्देश्यवारे प्रकाश पार्दै महिला खेलाडीलाई प्रोत्साहन दिने र मधेसको पहिचान राष्ट्रिय स्तरमा उजागर गर्ने प्रतिबद्धता जनाए । सञ्चालन प्रमुख खुसी सिवाकोटीले विगतका अनुभव र सिकाइका आधारमा सुधारसहित मैदानमा फर्किएको बताउँदै यसपटक नेदरल्याण्डका तीन अन्तर्राष्ट्रिय खेलाडी अनुबन्धन गरिएको जानकारी दिइन् ।
मार्की खेलाडी निरूता ठगुन्नाले यसपटकको ट्रफी मधेसमै ल्याउने सÍल्प व्यक्त गरिन् भने ब्रान्ड एम्बेसडर नीति शाहले टिमसँग आबद्ध हुन पाउँदा गर्व महसुस भएको बताइन्।
६ टोलीको सहभागीतामा हुने इडब्लुभिएल प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । यसअघि आज बिहान नेपाल–भारत सीमा नजिक शङ्कराचार्य गेटमा पत्रकार सम्मेलनमार्फत पनि ट्रफी सार्वजनिक गरिएको थियो ।
Facebook Comments Box