वीरगञ्ज ७, भदौ । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाबीचको ३८ वर्षको वैवाहिक सम्बन्ध अन्त्य हुन लागेको खबर बाहिर आएको छ ।
सुनिताले मुम्बईको बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
गोविन्दा या उनकी श्रीमती सुनिताबाट अहिलेसम्म यसबारे कुनै आधिकारिक बयान आएको छैन । न त उनको नजिकका कसैले यसबारे मौनता तोडेका छन् ।
केही महिनाअघि यी दुईबिच सम्बन्ध विच्छेदको हल्ला पनि भाइरल भएको थियो । तर, त्यस समयमा सुनिता आहुजाले सार्वजनिक बयान जारी गर्दै गोविन्द र आफूलाई कसैले पनि अलग गर्न नसक्ने बताएकी थिइन् ।
सम्बन्ध विच्छेदको हल्लाका बिचमा सुनिता आहुजाको एउटा भिडियो पनि भाइरल भइरहेको छ । यसमा सुनिताले गोविन्दलाई आफूले जस्तो माया अरू कसैले गर्न सक्दैन भनेकी छिन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि, यो अन्तर्वार्ता पुरानो जस्तो देखिन्छ । सुनिताले हालै आफ्नै युट्युब च्यानल पनि सुरु गरेकी छिन् । उनी आफ्नो पहिलो भ्लगमा भावुक देखिएकी थिइन् ।