वीरगञ्ज ७ भदौ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवको सक्रिय हस्तक्षेप र विवाद समाधानपछि आजदेखि ३०५ बोरा डीएपी र २४३ बोरा युरिया वितरण सुरु भएको छ । मल वितरणले स्थानीय किसानहरूमा खुसीको लहर छाएको छ ।
यसअघि, गाउँपालिका उपाध्यक्ष शर्मिला विष्ट महतोको गलत कदमका कारण मल वितरणमा अवरोध उत्पन्न भएको थियो । महतोले स्थानीय कोडेड कृषि सहकारी संस्थालाई मल उपलब्ध नगराई आफ्ना श्रीमान् निकट अर्को कृषि सहकारीलाई मल वितरणको सिफारिस गरेपछि विवाद चर्किएको थियो ।
अनियमितताले किसानहरू समयमै मल पाउनबाट वञ्चित भएका थिए । विवादले उग्र रूप लिएपछि अध्यक्ष यादवले तत्काल हस्तक्षेप गरी समस्याको समाधान गरेका हुन् ।“विवाद समाधान भएर आज मल वितरण सुरु हुँदा हामी निकै खुसी छौँ । अब खेतीमा सहजता आउनेछ,” स्थानीय किसान दुखी चौधरीले उत्साहपूर्वक भने । अन्य किसानहरूले पनि मल प्राप्त भएपछि राहत महसुस गरेको बताएका छन् ।
अध्यक्ष यादवले वितरण प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन विशेष जोड दिएको बताए । “किसानहरूको पीडालाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । यस्ता समस्या फेरि नदोहोरियोस् भनेर हामीले ठोस योजना बनाइरहेका छौँ,” उनले भने ।
व्यवस्थित वितरण र विवाद समाधानले सखुवा प्रसौनीका किसानहरूमा नयाँ आशा पलाएको छ । अबको खेती सिजन मल अभावबिना सहज रूपमा अघि बढ्ने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् ।