वीरगंज, ७ भदौ । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा शनिवार सम्पन्न जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले झाडापखाला तथा हैजा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । झाडा पखाला कोलेरा रोकथामको लागि बैठकमा सहभागी सरोकारवालाहरूको समन्वयमा व्यापक रूपमा जनचेतनामूलक घरदैलो कार्यक्रम शुरू गर्ने बैठकले निर्णय गरेको छ । यसैगरी झाडा पखाला भई उपचारको लागि गएका बिरामीहरूलाई पर्सा जिल्लास्थित सबै अस्पतालहरूले पहिलो प्राथमिकतामा राखी समयमा नै यथोचित एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउने, संक्रमण बढेको अवस्थामा उपचारको लागि पर्याप्त रूपमा डेडिकेटेड बेड छुट्याई उपचार गर्न थप जनशक्तिको व्यवस्थापन गरी पूर्ण तयारी अवस्थामा रहन सबै अस्पतालहरूलाई जानकारी गराउने बैठकले निर्णय गरेको छ । स्वास्थ्य कार्यालय पर्साले उपचारको लागि आवश्यक औषधि तथा परीक्षण किटको व्यवस्थापन गर्ने, सरसफाई प्रवद्र्धनको लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका सहित सरोकारवालाको समूहहरूको प्रभावकारी परिचालन गर्न वीरगंज महानगरपालिकालाई अनुरोध गरिएको छ । झाडा पखाला, कोलेरा (हैजा) रोकथामका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेशागत संघ संस्था, नेपाल रेडक्रस सोसाईटी, गैर सरकारी संस्था, मिडिया, सञ्चारकर्मी, विभिन्न दातृ संस्थाहरूको समन्वय एवं सहयोगमा आवश्यक सामाग्रीहरूको व्यवस्थापन गरी सचेतना जागरणका सघन रूपमा अभियानहरू समेत सञ्चालन गर्ने निर्णय भएको छ । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको अर्काे बैठक भदौ ८ गते दिउँसो ३ बजे जिल्ला प्रशासन कार्यालय, पर्सामा राख्ने निर्णय समेत बैठकमा गरिएको छ ।
Facebook Comments Box