वीरगंज, ८ भदौ । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री सत्रुधन प्रसाद सिंहको उपस्थितिमा बसेको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले झाडापखाला रोकथामको लागि विभिन्न निर्णयहरू गरेको छ । झाडा पखाला, कोलेरा (हैजा) रोकथामका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेशागत संघ संस्था, नेपाल रेडक्रस सोसाईटी, गैर सरकारी संस्था, मिडिया, सञ्चारकर्मी, विभिन्न दातृ संस्थाहरूको समन्वय एवं सहयोगमा आवश्यक सामाग्रीहरूको व्यवस्थापन गरी माईकिङ्ग, घरदैलो एवं सचेतना जागरणका अभियानहरू तत्कालै गर्ने समितिले निर्णय गरेको छ । त्यसैगरी महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य कर्मचारीहरूलाई अत्यावश्यक बाहेक बिदा स्विकृत नगर्ने एवं आवश्यक भएको खण्डमा जिल्लास्थित स्थानीय तहका स्वास्थ्यकर्मी–स्वास्थ्य सम्बन्धी जनशक्तिलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने जनाएको छ । यसैगरी औषधि, किट, खानेपानी निर्मलीकरणका लागि आवश्यक औषधिको पर्याप्तता सुनिश्चित गर्न स्वास्थ्य कार्यालय, पर्साले आवश्यक पहल गर्ने एवं सोको लागि प्रदेश सरकार र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले जोइन्ट अपरेशन सेन्टरको स्थापना गरी महामारी नियन्त्रणको सम्बन्धमा फोकल पर्सन तोकी आवश्यक सूचना संप्रेषणको आवश्यक व्यवस्था मिलाउने, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको सांघु खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति मार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने, हाल फैलिरहेको महामारीको स्थलगत पहिचानको लागि महामारीको अनुसन्धान, सम्बन्धीत स्थानीय तहले गर्ने तथा सोको लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने समितिले निर्णय गरेको छ ।
Facebook Comments Box