रौतहट, ९ भदौ । रौतहटको माधवनारायण नगरपालिका–६ की २६ वर्षीया रूबीकुमारी साहको हत्या प्रकरणमा संलग्न भएको आशंकामा एक ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमवार पक्राउ परेका व्यक्ति गौर बजारका ई–रिक्सा चालक लक्ष्मण महरा हुन् । हत्या गर्ने व्यक्तिले रूबीको शव सुटकेसमा राखी गंगापिप्रा गाउँँसम्म लैजान महराको ई–रिक्सा पाँच सय रुपियाँँमा भाडामा लिएको खुलेको छ । तर मुडवलवा गेट नजिक पुग्दा ई–रिक्साको चक्कामा समस्या आएपछि हत्यारा सुटकेस सडक किनारमै फालेर भागेको प्रहरीको भनाइ छ । पक्राउ परेका चालक महराले भने सुटकेसभित्र के छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार रूबीको हत्याराको लगभग पहिचान भइसकेको छ र हाल ती व्यक्तिको व्यापक खोजी भइरहेको छ।
प्रहरी अनुसन्धान अनुसार शनिवार राति रूबीलाई गौर बजारस्थित एक डेरामा बोलाई हत्या गरिएको हो । साँझ करिब ६ बजे उनले आमा मिथिलादेवी साहलाई फोन गरी “केही सामान लिन जान्छु” भन्दै घरबाट निस्किएकी थिइन् तर फर्किइनन।
त्यस राति गौर नगरपालिका–९ मुडवलवा गेटमा शंकास्पद अवस्थामा बेवारिसे सुटकेस फेला परेको थियो । सुरक्षाकर्मीले आइतवार बिहान सुटकेस खोल्दा रूबीको शव भेटिएको थियो ।