वीरगंज, ९ भदौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महामारीको समयमा सकारात्मक समाचार सम्प्रेषण गर्नुपर्ने बताएका छन् ।
सोमवार नारायणी अस्पतालमा उपचाररत झाडापखाला तथा हैजाका बिरामीहरुको निरीक्षण गर्दै उनले विपदको समयमा एकद्वार प्रणालीबाट सूचना दिनुपर्नेमा जोड दिए । उनले विभिन्न च्यानलबाट आइरहेको समाचारलाई निस्तेज गर्नुपर्ने बताए ।
स्वास्थ्यमन्त्री पौडेलले वडाहरुमा माइकिङ गरेर झाडापखाला र हैजा सम्बन्धी सचेतना फैलाउन र बिरामीहरुको नारायणी अस्पतालमा निःशुल्क उपचार भइरहेकोबारे जानकारी दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
झाडा पखाला र हैजाबाट संक्रमित बिरामीहरूको उपचारमा कुनै पनि समस्या हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । दूषित पानी कहाँबाट घरघरमा फैलियो त्यसबारे अनुसन्धान गर्ने बताए । वडा नं. ११, १२, १३ का वडाहरुमा रहेका डिप बोरिङ अथवा खानेपानी संस्थानको पाइपमा दूषित किटाणु मिसिएकोबारे अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।
नारायणी अस्पतालमा निरीक्षणका क्रममा मन्त्री पौडेललाई केहि बिरामीका कुरूवाले बाहिरबाट औषधि किनेर ल्याउनु परेको गुनासो गरेपछि अस्पतालका चिकित्सकहरूलाई लक्षित गर्दै झाडापखालाका बिरामीहरुलाई औषधि र जनशक्तिको अभाव नगर्न निर्देशन दिए ।
सो क्रममा रहेका मधेस प्रदेशका भूमी, सहकारी तथा कृषिमन्त्री जनार्दन सिंह क्षेत्रीले वीरगंजमा झाडापखाला र हैजाको संक्रमण फैलिएको विषय संवेदनशील भएको बताए ।
त्यस्तै स्वास्थ्यमन्त्री पौडेलसँग वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले संक्रमण नियन्त्रण र रोकथामका लागि महानगरपालिकाले काम गरिरहेको जानकारी बताए ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताको अध्यक्षतामा भएको छलफल कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका जनस्वस्थ्य अधिकृत जयमोद ठाकुर, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास, सुचना अधिकारी डा. उदयनारायण सिंह, डा. नीरज सिंह लगायतले संक्रमणको रोकथाम र नियन्त्रणका लागि गरिरहेको कार्यबारे जानकारी गराएका थिए ।