वीरगंज, २३ भदौ । वीरगंजमा गोली चलेको छ । सोमवार अपराह्न सवा ४ बजेको समयमा शंकराचार्य गेट नजीकै एउटा पसलमा गोली चलेको हो ।
पसलमा काम गर्ने भारतीय महिला वर्ष १८ की निशा कुमारीलाई भारत, झारखण्ड बस्ने वर्ष २६ का प्रदीप शर्माले गोली प्रहार गरेका हुन् ।
गालामा गोली लागेर निशा ढलेपछि प्रदीप शर्मा भाग्ने क्रममा पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनको साथबाट सिक्सर एक थान बन्दूक, त्यसमा लाग्ने तीन राउन्ड गोली बरामद भएको जनाइएको छ । गालामा गोली लागेर गम्भीर अवस्थामा रहेकी निशाको नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
यो घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।