काठमाडौं, २३ भदौ/ काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकाका थप विभिन्न स्थानमा कफर्यु आदेश जारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीले आजै अर्काे विज्ञप्तिमार्फत शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगंज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कफ्र्यू आदेश जारी गरिएको जनाउनुभएको छ। त्यस्तै, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरवार सङ्ग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरवार सङ्ग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, नारायणहिटी दरवार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि कफ्र्यू आदेश जारी गरिएको छ। प्रशासन कार्यालयले सिंहदरवार क्षेत्रको भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरवार मूल गेटसम्म, सिंहदरवार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालयअगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरवारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरवार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरवार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वाेच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कफ्र्यू आदेश जारी गरेको छ। प्रशासन कार्यालयले आज २३ गते अपराह्न १ः०० देखि रातिको १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महा नगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको जनाएको हो। यसअघि प्रशासन कार्यालयले नयाँ बानेश्वर आसपास क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको थियो। पोखरामा निषेधाज्ञा जारी जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। पोखरा महानगरपालिका–७ सहीदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आज दिउँसो २ बजेदेखि अर्काे आदेश नभएसम्मका लागि पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेगेट (बैदाम), उत्तरतर्फ मालमोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैंकचोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालयअगाडि, ड्यामसाइड) सम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो। ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। इटहरीमा निषेधाज्ञा जारी जिल्ला प्रशासन कार्यालय सुनसरीले आज अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि इटहरी उपमहानगरपालिकामा निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो। उत्तरतर्फ इटहरीस्थित नेपाली सेनाको ब्यारेकदेखि पारूहाङ चोकसम्म, पूर्वमा मिलन चोकदेखि जुट विकाससम्म, दक्षिणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, यातायात व्यवस्था कार्यालय, साथी पेट्रोलपम्प र पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिमतर्फ जनताबस्तीसम्मका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट गरेको छ। कफ्र्यु जारी गरिएका क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, भेला, बैठक, प्रदर्शन, घेराउ गर्न नपाइने कानुनी व्यवस्था छ। इटहरी उपमहानगरपालिकामा भ्रष्टाचार भएको भन्दै नाराबाजीसहित प्रदर्शनमा उत्रिएका जेन–जी पुस्ता र प्रहरीबीच यसअघि झडप भएको थियो। प्रदर्शनले उग्ररूप लिन थालेपछि स्थिति नियन्त्रण लिनका लागि प्रहरीले हवाइफायर र अश्रूग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो। झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका छ जना र प्रदर्शनकारीतर्फ केही व्यक्ति घाइते भएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिनुभयो। भ्रष्टाचारविरूद्ध नाराबाजी गर्दै बिहान ११ः०० बजेदेखि यहाँ शुरू भएको प्रदर्शन अनियन्त्रित भएपछि बाध्य भई केही संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रूपन्देहीको भैरहवा र बुटवलमा निषेधाज्ञा जारी जिल्ला प्रशासन कार्यालय रूपन्देहीले यहाँको भैरहवा र बुटवलमा निषेधाज्ञा आदेश जारी गरेको छ। आज अपराह्न ४ः०० बजेदेखि रातिको १०ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो। जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि भैरहवाको पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्धचोक र दक्षिणमा मेउडिहवासम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ। यसैगरी बुटवलमा पूर्वतर्फ पेट्रोलपम्प धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला र दक्षिणमा मङ्गलापुर तथा बुटवल भैरहवा सडकको दाँयाबाँया १०० मिटरसम्म निषेधाज्ञा लगाइएको आदेशमा उल्लेख छ। उल्लेखित निषेधाज्ञा लगाइएको क्षेत्रमा कुनै पनि प्रकारको आवातजावत, भेला, जुलुस प्रदर्शन, बैठक, घेराउ गर्न प्रतिबन्ध लगाइएको छ।
Facebook Comments Box