काठमाडौं २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरू खोल्न नसकिने अडान लिएका छन् । मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरूमाथि लगाइएको प्रतिबन्ध खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पार्टी निर्णयवारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए । ‘जे क्षति भयो, त्यो क्षति अनुसार आजको मन्त्रिपरिषद् बैठक बस्दै गर्दा आन्दोलनकारीको मागवारे केही न केही सम्बोधन गर्नुपर्छ’ पौडेलको प्रस्ताव थियो, ‘त्यो सम्बोधन गर्ने क्रममा सामाजिक सञ्जाल दर्ता कुटनैतिक ढंगले पहल गर्दै जाने र तत्काललाई खोल्ने निर्णय गर्नुपर्छ ।’ तर प्रधानमन्त्री ओलीले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ दिएका छन् । ‘सभापतिज्यूले पनि भन्नुभएको थियो । तर कम्पनीहरूले खुलेआम रूपले दर्ता गर्दैनौं भनिरहका छन् । नियमन नगरी यतिकै खोल्न सकिदैन’, प्रधानमन्त्री ओलीले भनेका छन् । यसपछि गृहमन्त्री पदबाट राजीनामा दिदै रमेश लेखकले पनि सामाजिक सञ्जालहरूको प्रतिबन्ध खोल्न प्रस्ताव राखे । तर ओलीले मानेनन् । ‘तपाईहरूले राखेको प्रस्तावमा सकारकात्मक छु भन्नुभयो’, एक मन्त्रीले भने । उनका अनुसार बैठकपछि अहिले प्रधानमन्त्री ओली र सभापति देउवाबीज बालुवाटारमै भेटवार्ता चलिरहेको छ ।
Facebook Comments Box