- प्रिया मिश्र
महिला भनेको जननी हुन, कुनै पनि राष्ट्र, समाज, समुदाय वा परिवारका लागि एउटी चालक हुन्। एउटी महिलाले चाह्यो भने एउटा घरलाई नर्क वा स्वर्गमा परिणत गर्न सक्छिन्। उनीहरूको भूमिका परिवारदेखि राष्ट्र निर्माणसम्म अति महत्वपूर्ण छ। यद्यपि समयको अन्तरालमा महिलाहरूको अवस्था धेरै परिवर्तन भएको छ। पहिले महिलाहरूको अवस्था धेरै पछाडि परेको थियो भने अहिले उनीहरूको अवस्था सुधार हुँदै गएको देखिन्छ। तर, यो सुधार पूर्ण समानता हासिल भएको भन्नु अझै चाँडो हुन्छ। महिला प्राचीन कालदेखि नै अगाडि छिन् र पुरुषहरूसँग सहकार्य गर्दै आइरहेकी छिन्।
बुवाले खाना को लागि कमाएर ल्याउँदा आमाले पकाएर खुवाउने, किसानसँग खेतमा सहकार्य गर्ने, व्यापारमा श्रीमानलाई सहयोग गर्ने जस्ता भूमिका महिलाले सधैं निर्वाह गर्दै आइरहेकी छन्। तर यी कार्यहरूको कहिल्यै उचित मूल्यांकन भएन। पारिश्रमिक पाइनन्। अहिले भने त्यही काम बाहिर रोजगारीका रूपमा गर्दा महिलालाई पारिश्रमिक दिइन्छ, र भनिन्छ महिला अघि बढिन्। वास्तवमा महिला त पहिले देखिनै अगाडि थिइन्।
पहिलेको समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकझैँ व्यवहार गरिन्थ्यो। घरको काम, बच्चा हुर्काउने र श्रीमान वा सासु-ससुराको सेवा गर्ने मात्र उनीहरूको कर्तव्य मानिन्थ्यो। छोरी जन्मिनु नै अभिशापजस्तो मानिन्थ्यो। बालविवाह, जबरजस्ती विवाह, बहुविवाह, जातीय तथा लैंगिक विभेद सामान्य थिए।
अहिले भने महिलाहरूको अवस्था धेरै सुधारिएको छ। छोरीलाई पनि छोरा सरह माया र अवसर दिन थालिएको छ। बालविवाह घट्दो क्रममा छ। महिलाहरू समाजसेवा, नेतृत्व, राजनीति, व्यवसाय लगायतका क्षेत्रमा अगाडि बढेका छन्। महिला हिंसा विरुद्ध जनचेतना बढेको छ, र कानुनी संरचनाहरू बलियो भएका छन्। यद्यपि ग्रामीण क्षेत्रमा अझै पुरानै सोच हाबी छ।
पहिले महिलालाई शिक्षा दिनु नपर्ने मान्यता व्यापक थियो। शिक्षाको अभावले महिलाले अत्याचार सहनुपर्थ्यो। अहिले भने महिलाको शिक्षा अवस्था उल्लेखनीय सुधारिएको छ। विद्यालयदेखि विश्वविद्यालयसम्म महिलाको उपस्थिति बढ्दो छ। डाक्टर, इन्जिनियर, शिक्षक, वकिल, वैज्ञानिक, प्रशासनिक अधिकारीका रूपमा महिलाहरूको संलग्नता बढेको छ।
आर्थिक दृष्टिले पनि महिलाहरू पहिले पूर्णतः आश्रित थिए। अहिले विभिन्न व्यवसाय, सेवा, उद्यमशीलता र स्वरोजगारमा सक्रिय छन्। उनीहरूले राष्ट्रको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। तर अझै धेरै महिला न्यून पारिश्रमिकमा अनौपचारिक क्षेत्रमा काम गर्न बाध्य छन्।
राजनीतिमा पनि महिलाको सहभागिता बढेको छ। संविधानले समान अधिकार सुनिश्चित गरेको छ। आरक्षणका कारण महिलाहरू स्थानीयदेखि संघीय तहमा प्रतिनिधित्व गरिरहेका छन्। राष्ट्रपति, सभामुख, मन्त्री जस्ता उच्च पदमा पनि महिलाको उपस्थिति छ। तर निर्णय प्रक्रियामा अझै पनि महिलालाई पूर्ण प्रभाव पार्न चुनौती छ।
धर्म, परम्परा र संस्कृति प्रयोग गरेर महिलालाई दबाउने प्रचलन पनि घट्दो क्रममा छ। मासिक धर्मका बेला गरिने छुवाछूतलाई चुनौती दिइएको छ। विधवाहरूको पुनर्विवाहलाई स्वीकृति मिलेको छ। महिलाहरू कला, साहित्य, मिडिया, मनोरञ्जन र सांस्कृतिक गतिविधिमा अग्रसर छन्।
अन्ततः, महिलाको अवस्था पहिलेको तुलनामा धेरै सुधारिएको छ। शिक्षा, स्वास्थ्य, राजनीति, समाजसेवा, व्यवसाय सबै क्षेत्रमा महिलाहरू उल्लेखनीय रूपमा अगाडि बढेका छन्। तर अझै पनि समानता र स्वतन्त्रताको पूर्ण अनुभूति सबै महिलाले गर्न सकेका छैनन्। ग्रामीण र शहरी क्षेत्रमा असमानता कायम छ। महिलाको सशक्तीकरणको यात्रा अझै बाँकी छ र यो यात्रा सफल बनाउन सम्पूर्ण समाजले जिम्मेवारी लिनुपर्छ।