वीरगंज ४ असोज । पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीहरूले लालपूर्जा (जग्गाधनी पुर्जा) प्राप्त गर्न थालेका छन् । भूमि समस्या समाधान आयोग, पर्साले शनिवार सखुवा प्रसौनी गाउँपालिका–१, सथवलबाट लालपूर्जा वितरणको औपचारिक शुरूवात गरेको हो । आयोगका अध्यक्ष तबरेज अहमद र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले संयुक्त रूपमा ४४ जना भूमिहीनलाई लालपूर्जा हस्तान्तरण गरे । ३७ जना भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्दै आयोगका अध्यक्ष अहमदले आफ्नो जीवनकै खुसीको क्षण भएको बताए । उनले भने, मैले अध्यक्षको जिम्मेवारी सम्हाल्ने बेलामै लालपूर्जा वितरण गर्ने वाचा गरेको थिएँ । आज त्यो वाचा पूरा भएको छ, यो दिन मेरो लागि अविस्मरणीय छ। यो अभियान पर्साबाट शुरू भए पनि मधेश प्रदेशकै लागि पहिलो उनले बताए । आयोगले जिल्लाभर ५,१७८ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने लक्ष्य लिएको छ। वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, ठोरी र सखुवा प्रसौनी गाउँँपालिकाबाट प्राप्त सबै आवेदनहरूको प्रमाणीकरण तथा नापजाँच प्रक्रिया पूरा भइसकेको आयोगले जनाएको छ । सथवलमा पहिलो चरणको वितरण सम्पन्न भएपछि अब दशैँलगत्तै ठोरी गाउँपालिका–४ का १,१९७ जनालाई जग्गाधनी पुर्जा दिने तयारी भइरहेको र बाँकी ५,१३४ जनाको पनि सबै आवश्यक प्रक्रिया पूरा भएकाले छिट्टै उनीहरूलाई समेत लालपूर्जा वितरण गरिने अध्यक्ष अहमदले जानकारी दिए। लालपूर्जा वितरणबाट वषौंदेखि भूमिहीन भएर असुरक्षित बसोबास गर्दै आएका हजारौं परिवारलाई स्थायित्व दिने उनले जनाएका छन् ।
Facebook Comments Box